चितवनमा सुरु भयो २ दिने सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर: पोखरामा १५ र १६ गते

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि काठमाडौं, चितवन र पोखरामा सेवा शिविर सञ्चालन गर्दैछ। पालिकाले जिल्ला बाहिर स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीहरूलाई लक्षित गर्दै साउन ९ गतेदेखि १६ गतेसम्म शिविर सञ्चालन गर्ने जनाएको छ।

शिविरमार्फत वायोमेट्रिक प्रणाली प्रयोग गरी सामाजिक सुरक्षा भत्ता नविकरण गरिने छ। काठमाडौंमा साउन ९ र १० गते सम्पन्न शिविरमा २६५ सेवाग्राहीको भत्ता नविकरण गरिएको जानकारी दिइएको छ। चितवनमा आज र भोलि (साउन १२ र १३) तथा पोखरामा साउन १५ र १६ गते शिविर सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ।

सेवा शिविरको तालिका:
चितवनमा आज र भोलि
मिति: २०८२ साउन १२–१३
स्थान: रत्ननगर नगरपालिका वडा नं. २ कार्यालय, टाँडी
समय: बिहान ८:०० देखि साँझ ५:००

पोखरा
मिति: २०८२ साउन १५–१६
स्थान: पोखरा महानगरपालिका वडा नं. ९ कार्यालय, न्युरोड
समय: बिहान ८:०० देखि साँझ ५:००

पालिकाका अनुसार, ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७’ को दफा ४(४) अनुसार प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र परिचयपत्र अनिवार्यरूपमा नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

यस वर्षदेखि लागू गरिएको वायोमेट्रिक प्रणाली अनुसार लाभग्राहीको उपस्थिति अनिवार्य छ। पालिकाले तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई परिचयपत्र नविकरण गर्न आग्रह गरेको छ। तोकिएको समयमा नविकरण नगरेमा त्यसको जिम्मेवारी लाभग्राही स्वयंको हुने चेतावनी पनि दिइएको छ।

शिविरले काठमाडौं, चितवन र पोखरामा रहेका त्रिपुरासुन्दरी गाउँपालिकाका नागरिकहरूलाई ठूलो सुविधा पुग्ने विश्वास गरिएको छ।