गाजामा भोकमरीले गम्भीर समस्यामा, सयुक्त राष्ट्रका कर्मचारी समेत प्रभावित

अन्तर्राष्ट्रिय खबर । गाजा क्षेत्रमा खाद्य संकट दिनप्रतिदिन भयावह बन्दै गएको छ। संयुक्त राष्ट्रका शरणार्थी सहायता निकायले गाजामा कार्यरत आफ्ना केही कर्मचारीहरू समेत भोक र अभावको मारमा परेको जानकारी दिएको छ।

संस्थाका अनुसार अत्यावश्यक सामग्रीको चरम अभावका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेको छ। जनसंख्याको ठूलो हिस्सा कुपोषणको चपेटामा परेका छन् भने नवजात शिशुहरूको ज्यानसमेत गएको छ।

पछिल्लो केही दिनयता मात्र भोक र कुपोषणका कारण कैयौंको मृत्यु भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन्। बालबालिकामा प्रतिरक्षा क्षमता कमजोर हुँदा विभिन्न रोगले आक्रान्त बनाइरहेको जनाइएको छ।

गाजा बाहिर राहत सामग्रीको भण्डारण पर्याप्त भए पनि नाकाबन्दीका कारण ती सामग्री गाजाभित्र ल्याउन सकिएको छैन। अन्तर्राष्ट्रिय निकायहरूले मानवीय सहायता सहज ढंगले प्रवेश गरिनुपर्ने र नाकाबन्दी अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

सन् २०२३ मा सुरु भएको हिंसात्मक द्वन्द्वपछिका कारबाहीमा हजारौं सर्वसाधारणको मृत्यु भइसकेको जनाइएको छ।