काठमाडौँ। महाशिवरात्रि पर्व आज देशभरका शिव मन्दिरहरूमा भगवान् शिवको पूजा, आराधना र दर्शन गरी मनाइँदै छ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शिवजीको उत्पत्तिसँग सम्बन्धित छ। धर्मग्रन्थअनुसार, यही दिन मध्यरातमा भगवान् शिव प्रकट भएका मानिन्छ, जसले गर्दा यसलाई ‘शिवरात्रि’ भनिएको हो।
आजको दिन भक्तजनहरू बिहानै स्नान गरी शिवालयहरूमा गई भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने परम्परा छ। शिवलाई प्रिय दूध, धतुरो, बेलपत्र लगायतका सामग्री चढाइन्छ।
धार्मिक मान्यता अनुसार, महाशिवरात्रिमा उपवास गरी रातभर जाग्राम बस्नाले शुभ फल प्राप्त हुने र मृत्युपछि यमलोक जानु नपर्ने विश्वास गरिन्छ।
यस अवसरमा मन्दिरहरूमा भजनकीर्तनसहित धुनी जगाइने र प्रसाद ग्रहण गरिने प्रचलन छ। भगवान् शिवको पूजा गर्दा सुख, शान्ति र कल्याण प्राप्त हुने जनविश्वास छ।






