धादिङ जिल्लाको गल्छी गाउँपालिका-३, गुप्तेश्वर क्षेत्रमा पानी ट्यांकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
आज बिहान करिब २ बजे आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी बोकेको बागमती प्रदेश-०१–००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा सडकबाट अनियन्त्रित भई करिब ५/६ सय मिटर तल खसेको हो।
दुर्घटनामा १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
गम्भीर घाइते भएका १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
प्रहरीका अनुसार साँघुरो सडकमा ट्यांकर ब्याक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
हाल घटनास्थलमा प्रहरीको टोली परिचालन गरी आवश्यक अनुसन्धान भइरहेको छ भने ट्यांकर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






