मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको विष सेवनपछि मृत्यु

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ। थापाले काठमाडौं, कलंकीस्थित साथीको डेरामा विष सेवन गरेका थिए।

धादिङ, धुनीबेसी–९ निवासी ३६ वर्षीय थापालाई अचेत अवस्थामा फेला परेपछि सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो, जहाँ साँझ ६ः३८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार थापाले कोठामा एक्लै भएको मौका पारेर विष सेवन गरेका थिए। उनको साथबाट बरामद पत्रमा सहकारीको पैसा लेनदेन प्रकरणमा नाम जोडिँदा बेइज्जत महसुस भएको उल्लेख छ।

सुमेरु सहकारीको विवादमा थापाको नाम मुछिएको बताइएको छ। सो सहकारीलाई मन्त्रालयले केही समयअघि समस्याग्रस्त घोषणा गरेको थियो। यस विषयमा सार्वजनिक भएको अडियो क्लिपमा थापाको नाम जोडिएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। थापाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ।