क्यानडा कि उपप्रधानमन्त्री द्वारा राजीनामा: प्रधानमन्त्रीलाई पनि पद छोड्न दबाब

अन्तरास्ट्रिय खबर । क्यानडाकी उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको झडपपछि सोमबार राजीनामा दिएकी छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने तयारी गरेको सम्भावित ट्यारिफको मुद्दामा यी दुईबीच मतभेद थियो।

यो राजीनामा ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको छ । ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि परेका छन्।

पोल ट्र्याकरका अनुसार उनी पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशतले ट्रुडोलाई मन पराए । अहिले उनलाई समर्थन गर्नेको संख्या २८ प्रतिशत मात्रै छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार वरिष्ठ क्याबिनेट सहयोगीको राजीनामालाई सन् २०१५ मा सत्तामा आएपछि ट्रुडोका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा वर्णन गरिएको छ।

ट्रुडो मन्त्रिपरिषद्का सदस्यले गरेको यो पहिलो खुला विरोध हो र यो कदमपछि सत्तामा उनको पकड कमजोर हुने सम्भावना छ ।

फ्रिल्याण्डको स्थानमा क्यानडाका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ ।

क्रिष्टिया फ्रिल्याण्डले उपप्रधानमन्त्री पद छाडेपछि ट्रुडोमाथि दबाब बढेको छ । धेरै विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन्।

ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।