त्रिविले कर्मचारीलाई टिकटक लगायतका सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले कार्यालय समयभित्र टिकटक लगायतका सामाजिक सञ्जाल चलाउनमा रोक लाग्ने भएको छ । कार्यालय समयमा कर्मचारी टिकटक, फेसबुक, युट्युब लगायतमा व्यस्त हुने गुनासो आउन थालेपछि त्रिविले त्यसलाई नियन्त्रण गर्ने योजना अघि सारेको हो ।

यो विषयमा हाल कुनै निर्णय भने भइसकेको छैन । तर, त्रिवि रजिस्ट्रारको कार्यालयले छलफल अगाडि बढाएको छ ।

कर्मचारीहरू कार्यालय समयमा सोसल मिडियामा बढी व्यस्त हुने गरेको गुनासो आउन थालेपछि नियमन गर्ने विषयमा छलफल भइरहेको रजिष्ट्रार प्राडा केदार रिजालले बताए ।

विभागीय प्रमुखहरूलाई बोलाएर छलफल गरिएको छ । यस विषयमा विभागबाट थप सुझाव समेत माग गरिएको छ ।  नियमन गर्ने विषयमा निर्णय हुन सक्ने उनले बताए ।

सेवाग्राहीप्रति उत्तरदायी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यका साथ काम भइरहेको र त्यसका लागि सोसलमिडियाको नियमन पनि पर्ने उनको भनाइ छ ।

खाजा समय मात्रै खोल्ने र अन्य समयमा बन्द गर्ने विषयमा छलफल भइरहेको हो । त्यसका लागि विभागीय प्रमुखहरूबाट आवश्यक सुझाव आएपछि निर्णय गर्न सकिने उनको भनाइ छ ।