काठमाडौ । ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज आउने भएको छ । गएको माघ २ गतेदेखि विशेष अदालतमा सुरु अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । बुधबारै फैसला सुनाइने भनिए पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीको भनाइ छ ।
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ गते दायर गरेको रिटमा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया र जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाइएको छ ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, भूमाफियाका रूपमा जग्गा कारोबारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई विपक्षी बनाइएको मुद्दामा चार वर्षपछि फैसला हुन लागेको हो ।
सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा गरी गैरकानुनी लाभ लिएको अभियोगमा दाबी गरिएको छ । सरकारले अधिग्रहण गरेको सो जग्गा समेत जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेर राणाका सन्तानले ०४९ मा फिर्ता लिएको र भूमाफियाको चलखेलमा ०६२, ०६७ र ०६९ सालमा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता गरिएको अभियोग छ ।
प्रधानमन्त्रीको सरकारी निवास विस्तारका नाममा ०६६ चैत २९ र ०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक सम्पत्ति र राजकुलोको जग्गा समेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय गरिएको अभियोगमा उल्लेख छ ।
नौ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ । उक्त जग्गा व्यक्तिका नाममा सार्न संगठित रूपमा किर्ते गरिएको मुद्दा समेत काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।