धादिङ । नेपालभर आध्यात्मिक जागरण फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको नृसिंहदेव रथयात्रा गोरखा सदरमुकाममा आइपुगेर भव्य रूपमा सम्पन्न भएको छ। गत चैत १ गते पूर्वी सीमा मेचीबाट सुरु भएको यो यात्रा २२ दिनपछि पश्चिम महाकाली हुँदै गोरखा आइपुगेको हो।
भगवान नृसिंहको रथले देशका विभिन्न भूभाग पार गर्दै भक्तजनहरूलाई प्रत्यक्ष दर्शन गराउने, साथै आगामी २०८३ साल जेठ महिनामा धादिङको सल्यानटारमा आयोजना हुने ‘श्री नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव’ को सन्देश फैलाउने लक्ष्य राखेको थियो।
नृसिंहधाम क्षेत्रका पीठाधीपति डा. श्री श्रीवास कृष्णदास ब्रह्मचारीको नेतृत्वमा १५ सदस्यीय टोलीले सुदूरपश्चिमको चाँदनी दोधारादेखि पूर्वको केचनासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको हो। टोलीमा समितिका सदस्य, बटुक तथा मिडियाकर्मीहरूको सहभागिता रहेको थियो।
रथयात्राका क्रममा देशभर विभिन्न स्थानमा आरती, भजन–कीर्तन, धार्मिक प्रवचन जस्ता कार्यक्रम सञ्चालन गरिनुका साथै स्थानीयस्तरमा महा–महोत्सवबारे जानकारी पनि फैलाइएको थियो। यसले धार्मिक आस्था र एकताको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
आगामी महा–महोत्सव धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाम क्षेत्रमा आयोजना हुनेछ। उक्त अवसरमा १०८ तीर्थ यात्राको समापन, स्नान यज्ञ, विशेष कथा वाचन तथा देशभरका तीर्थस्थलबाट संकलित पवित्र जल वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
आयोजकहरूले यस महोत्सवलाई नेपालको इतिहासमै सबैभन्दा ठूलो आध्यात्मिक अनुष्ठानका रूपमा दाबी गरेका छन्। गोरखामा सम्पन्न भएको रथयात्राको समापनसँगै अब सल्यानटारमा हुने महा–महोत्सवप्रति देशभर उत्साह र चासो झनै बढेको देखिएको छ।






