फेसबुक कन्टेन्ट मोनेटाइजेसन प्रति नेपाली प्रयोगकर्ताको बढ्दो आकर्षण

काठमाडौ । मेटा कम्पनीले नेपालका प्रयोगकर्ताका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सेवा औपचारिक रूपमा सुरु गरेपछि सामाजिक सञ्जालमा आम्दानी गर्ने विषयमा चासो बढ्दै गएको छ।

यसअघि सीमित प्रयोगकर्तालाई मात्र आमन्त्रणका आधारमा कमाइको सुविधा दिइँदै आएकोमा, मेटाले गत अगस्ट ३१ पछि नयाँ मोडेलमार्फत कन्टेन्ट मोनेटाइजेसन लागू गरेको हो। यस क्रममा इन–स्ट्रिम विज्ञापन, रिल्समा विज्ञापन तथा परफर्मेन्स बोनसजस्ता पुराना प्रणाली हटाइएका छन्।

फेसबुकबाट आम्दानी गर्न आवश्यक मापदण्ड पूरा गर्ने उद्देश्यले प्रयोगकर्ताहरूबीच आपसी सहकार्यको अभ्यास पनि तीव्र बनेको छ। विशेषगरी फेसबुक ग्रुपमार्फत फलो, लाइक, कमेन्ट र इङ्गेजमेन्ट बढाउन सहयोग आदान–प्रदान भइरहेको छ।

यस्तै सक्रिय समूहहरूमध्ये ‘Facebook Monetize सहकार्य’ नामक ग्रुप हाल चर्चामा रहेको छ। उक्त ग्रुपमा एक लाखभन्दा बढी सदस्य आबद्ध छन् भने करिब एक दर्जनभन्दा बढी एडमिन रहेका छन्। ग्रुपको अवधारणा दामोदर न्यौपानेले अघि सारेका हुन्।

ग्रुपका एडमिन प्रदीप गौतमका अनुसार मोनेटाइजेसनमा इच्छुक सामाजिक सञ्जाल प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले यो समूह सञ्चालनमा ल्याइएको हो। आगामी दिनमा यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी रहेको उनले बताए।