सयपत्री खेतीबाट सबै खर्च कटाएर वार्षिक सात लाख सम्म कमाइ

काठमाडौ । महोत्तरीका लालबाबु भण्डारी पछिल्लो केही वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन्। करिब २० कट्ठा क्षेत्रफलमा खेती विस्तार गर्दै आएका उनलाई हरेक वर्ष झण्डै ७ लाख रुपैयाँ जति शुद्ध आम्दानी हुने गरेको छ।

उनी बिहानै खेतमा पुगेर सिँचाइ, मलखाद छर्ने, बिरुवा हेरचाह गर्ने र फुलेका फूल टिप्ने काम गर्छन्। उनको खेतीमा छोराद्वय विकास र आकाशले नियमित सहयोग गर्छन्।

लालबाबुका अनुसार फूलको बिरुवा भारतको मुज्जफरपुरबाट ल्याइन्छ। बिरुवा रोपेको २०–४० दिनभित्र फूल आउन थाल्छ र करिब ३–४ महिना निरन्तर उत्पादन दिन्छ।
एकैपटक १,२०० भन्दा बढी बिरुवाबाट दैनिक ५० किलोसभर फूल संकलन हुने गर्छ।

माग सधैं रहने भएकाले उनले दुई ठाउँमा फरक समयमा रोपाइँ गरेर वर्षभरि बजारमा आपूर्ति गर्न सफल भएका छन्।

फूल उनेर बनाइएको एउटा मालाको खुद्रा मूल्य ५०–७० रुपैयाँ पर्छ भने थोक व्यापारीलाई प्रतिकिलो ४००–५०० रुपैयाँमा बिक्री हुन्छ। यसरी दैनिक २–५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ।

उनले घरमै ‘जयमा फूल भण्डार’ सञ्चालन गरी बजार व्यवस्थापनलाई झनै सहज बनाएका छन्। घरखर्च, पढाइ तथा अन्य खर्च कटाएर वार्षिक सात लाखजति बचत हुने उनको भनाइ छ।

लालबाबुको सफल अनुभवले स्थानीय युवालाई कृषि व्यवसायतर्फ प्रेरित गरिरहेको छ।