नेकपा ब्युँताउने तयारीः प्रचण्ड-माधव अध्यक्ष, महासचिवमा विप्लव प्रस्ताव

काठमाडौं । तीन कम्युनिस्ट दलबीच पार्टी एकताको पहलले गति लिएको छ। माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा (एकीकृत समाजवादी) नजिकिँदै सहमतिको चरणमा पुगेका छन्। प्रस्तावअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह-अध्यक्ष हुनेछन् भने विप्लव महासचिवको भूमिकामा रहनेछन्।

भदौ मसान्तसम्म एकता घोषणा गर्ने तयारी हुँदैछ। पार्टीको नाम पुनः “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)” राख्नेमा नेताहरू लगभग सहमत छन्। पदीय जिम्मेवारी र सैद्धान्तिक मुद्दामा पूर्ण सहमति कायम गर्न दोस्रो तहका नेताहरू सक्रिय भेटघाटमा छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई केन्द्रमा राख्दै एमालेभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने योजना पनि ती दलहरूको छ। नेताहरूको भनाइमा यसपटक हतारमा नभई, संगठनात्मक सन्तुलन र आपसी विश्वास मजबुत बनाएपछि मात्र एकता टुंग्याइनेछ।