काठमाडौं । माबिलुङ एनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रोजगारी गर्ने नेपालीका लागि छुट्याइएको भागको बिक्री तथा बाँडफाँड सम्पन्न भइसकेको छ।
कुल १८ लाख १० हजार ५३० कित्ता सेयरमध्ये दोस्रो चरणमा १३ लाख ५४ हजार २३५ कित्ता सार्वजनिक बिक्रीमा आएको हो। यसमा ३० हजार १५ कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९८४ कित्ता सर्वसाधारणले खरिद गर्न पाउने छन्।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा साउन २९ गते बन्द हुनेछ भने आवश्यकता परे भदौ ९ गतेसम्म लम्बिन सक्छ।
कम्पनीले ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको अनुमानित लागत करिब ९२ करोड ६० लाख रुपैयाँ छ। आयोजना संचालन अनुमति अवधि अझै ३१ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ।
यस आईपीओको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इशुअर रेटिङ बी प्लस’ दिएको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।






