बहुविवाहलाई कानुनी मान्यता दिनु असभ्यताको पराकाष्ठा हो : सरला धमला

धादिङ । सरकार बहुविवाहलाई कानुनी मान्यता दिनेतर्फ उन्मुख हुँदै गरेको खबरप्रति महिलावादी तथा राजनीतिक क्षेत्रबाट चर्को विरोध भइरहेको छ। नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सरला धमलाले यसलाई “असभ्यताको पराकाष्ठा” भन्दै कडा आपत्ति जनाएकी छिन्।

होराइजन खबरका उप–संपादक नवराज श्रेष्ठसँगको कुराकानीमा उनले भनिन्, “संसारका कुनै पनि सभ्य राष्ट्रले कल्पना पनि नगरेको बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्ताव ल्याउनु गम्भीर प्रतिगमन हो।”

उनको भनाइमा यो प्रस्तावले दशकौं लामो संघर्षबाट महिलाले प्राप्त गरेका अधिकार खोस्ने, उनीहरूलाई फेरि शक्तिहीन वस्तु बनाउने षड्यन्त्र हो।

“आजको महिला कमजोर छैन,” उनले भनिन्, “हामी समान हक र सहअस्तित्वका लागि अग्रपंक्तिमा लडिरहेका छौं। हाम्रो अधिकार संविधानले सुनिश्चित गरिसकेको छ, र तिनको रक्षा गर्न हामी कुनै पनि संघर्ष गर्न तयार छौं।”

सरकारको प्रस्तावले न त महिलाको गरिमा सुरक्षित गर्नेछ, न समाजमा समानता ल्याउने उनले दाबी गरिन्। बरु, यसले पीडितलाई अझ पीडित बनाउने र सामाजिक संरचना भत्काउने खतरा रहेको उनको तर्क छ।

“अबका महिलाहरूलाई सरकारको दास नसम्झ,” धमलाले चेतावनी दिँदै भनिन्, “हामी राजनीतिक प्रतिस्पर्धामा सक्षम छौं र महिला अधिकारका लागि कुनै पनि साजिशविरुद्ध लड्न तयार छौं।”

उनले यस्तो प्रस्ताव नरोकिने हो भने यो मुद्दा केवल महिलाको होइन, हरेक सचेत नागरिकको बन्ने स्पष्ट गरिन् र सबैलाई प्रतिगामी कानुनविरुद्ध एकजुट हुन आह्वान गरिन्।