पर्वत । लगातारको वर्षाले पर्वत जिल्लाको मोदी गाउँपालिका–३, देउरालीस्थित लाङ्दी भन्ने स्थानमा गएको पहिरोले घर बगाउँदा एक दम्पती घरभित्रै पुरिएका थिए।
स्थानीय प्रहरी र बासिन्दाको सहयोगमा ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
छविलालकी श्रीमती विष्णुमती विश्वकर्माको खोजी अझै जारी छ। उद्धार कार्यमा प्रहरी टोली र स्थानीयवासी जुटेका छन्। तर भारी वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनामा उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने समयमै घरबाट बाहिर निस्कन सफल भएकी थिइन्।




























