धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नीलकण्ठ नगर समितिको आयोजनामा SEE परीक्षा २०८१ मा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
‘सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट होऔं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नीलकण्ठ नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययनमा निरन्तरता, प्रगतिशील सोच र अनुशासनको महत्वबारे मार्गदर्शन प्रदान गरिएको थियो। वक्ताहरूले विद्यार्थीलाई शिक्षा मात्र नभई सामाजिक उत्तरदायित्व र देश विकासमा युवाको भूमिकाबारे सचेत गराउँदै आगामी शिक्षायात्रामा सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता नीलकण्ठ नगरकमिटी अध्यक्ष किरण खातीले गरेका थिए भने अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष मदन ढकाल प्रमुख अतिथि रहेका थिए। साथै कार्यक्रममा पार्टी केन्द्रिय सदस्य रामबहादुर भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी, बागमती प्रदेश सहसचिव विजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी, प्रदेश सचिवालय सदस्य दीपक विश्वकर्मा, प्रदेश सदस्य शम्भु श्रेष्ठ लगायत नगरस्तरीय पार्टी नेतृत्व तथा विद्यार्थी संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यार्थीहरूलाई कक्षा ११ तर्फको अध्ययनको तयारीमा जुट्न र आफ्नो क्षमताको अधिकतम उपयोग गरी प्रगतिशील शिक्षा र चेतनाको विकास गर्न समेत आग्रह गरिएको थियो।
कार्यक्रमले नयाँ पुस्तामा अध्ययन र राष्ट्रप्रेमसहितको नेतृत्व विकास गर्ने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ।






