धादिङ । जिल्ला कारागार धादिङमा एक थुनुवाले आत्महत्या गरेका छन्। वेनीघाट रोराङ गाउँपालिका–७ चरौंदिका २० वर्षीय विष्णु सुनारले गएराति कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन्।
ज्यान मार्ने उद्योग अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएका थिए। लामो समयसम्म नफर्किएपछि सुरक्षामा खटिएका कर्मचारीले एकअर्काको काँधमा चढेर झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला कारागार धादिङका प्रशासक राममणि मिश्रले जानकारी दिनुभयो।
मिश्रका अनुसार मुडा बुन्न प्रयोग गरिने करिब दुई हात लामो डोरीको पासो बनाएर सुनारले आत्महत्या गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ।