काठमाडौं । भारतमा सामान्य मितिभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि छिट्टै मनसुन भित्रिने अनुमान गरिएको छ।
भारतको केरलामा सामान्यतया जुन १ तारिखमा मनसुन भित्रिने गर्छ। तर यस वर्ष मे २४ अर्थात् जेठ १० गते नै मनसुन प्रवेश गरेको छ। भारतको मौसम विभागले केरलासहित विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ।
नेपालका मौसमविद्हरूका अनुसार भारतमा मनसुन भित्रिएको १० देखि १५ दिनभित्र नेपालमा पनि मनसुन भित्रिने गर्छ। यस वर्ष भारतमा एक हप्ता अघि नै मनसुन सुरु भएकाले नेपालमा पनि ढिलो नहुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताएका छन्।
अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेकाले देशका विभिन्न स्थानहरूमा दिनहुँ पानी परिरहेको छ। आज पनि काठमाडौं उपत्यकासहित केही जिल्लामा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ र अक्टोबर २ मा सकिन्छ। यस वर्ष वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने अनुमान गरिएको छ। बढी वर्षा हुँदा डुबान, पहिरो र जनधनको क्षतिको जोखिम बढ्ने भएकाले पूर्वसावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।






