काठमाडौं । राजावादी आन्दोलनको तयारी तीव्र बनिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले बिना औपचारिक घोषणा निर्मल निवासमै नजरबन्दमा राखेको छ। उच्च स्रोतका अनुसार शनिबारदेखि नेपाल प्रहरीका सिभिल पोशाकका अधिकारीहरू शाहको निवास वरपर खटिएका छन्।
पूर्वराजा शाह शुक्रबार नगरकोटमा १२ दिनको बसाई सकेर निर्मल निवास फर्किएका थिए। फर्किएपछि उनले राजावादी आन्दोलनमा सक्रिय सबै पक्षसँग भेटघाट गरेका थिए। स्रोतले जनाएअनुसार, पछिल्लो राजनीतिक गतिविधि र राजसंस्थाका पक्षधरहरूको चहलपहल बढेपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाउँदै शाहलाई निवासमै सीमित गर्न प्रहरी परिचालन गरेको हो।
यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई पनि सरकार पक्षले नजरबन्दमा राखेको थियो। त्यस्तै, आइतबार मात्रै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
राजसंस्थाको पुनःस्थापनाको पक्षमा विभिन्न राजावादी संगठन र अभियन्ताहरू आन्दोलनको तयारीमा जुटिरहेका बेला पूर्वराजालाई यसरी नजरबन्दमा राखिनु विश्लेषकहरूले गम्भीर संकेतको रूपमा लिएका छन्।
सरकारी पक्षले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। निर्मल निवास परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ भने सर्वसाधारणको प्रवेश निषेध गरिएको छ।
(नयाँ अपडेटका लागि हामीलाई फलो गर्नुहोस्।)






