आजदेखि विश्व खोप सप्ताह र अन्तर्राष्ट्रिय बालिका सूचना प्रविधि दिवस मनाइँदै

धादिङ । आजदेखि विश्वभर खोप सप्ताह सुरु भएको छ। यस अभियानअन्तर्गत सबै उमेर समूहका मानिसलाई खोपमार्फत रोगबाट सुरक्षित राख्न र खोपको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य लिइएको छ।

स्वास्थ्य क्षेत्रमा खोपको योगदान उल्लेखनीय रहँदै आएको छ। पछिल्ला दशकहरूमा खोपका कारण करोडौँ मानिसको ज्यान बचिएको छ। बालबालिकामा दादुरा, पोलियो, र टिटानसजस्ता रोग नियन्त्रणमा खोपको भूमिका महत्वपूर्ण मानिन्छ। यस वर्ष ‘सबैका लागि खोप सम्भव छ’ भन्ने नाराका साथ खोप सप्ताह मनाइँदैछ।

यस्तै, आजै अन्तर्राष्ट्रिय बालिका सूचना प्रविधि दिवस पनि मनाइँदैछ। सूचना तथा प्रविधिको क्षेत्रमा बालिकाहरूको पहुँच, अवसर र सहभागिता बढाउन हरेक वर्ष यो दिवस मनाइन्छ। प्रविधिमा महिला सहभागिता वृद्धि गर्दै समावेशी डिजिटल रूपान्तरणका विषयमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

त्यसैगरी, आज अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि विश्वभर मनाइँदैछ। शान्ति, समृद्धि र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले मनाइने यस दिवसमा विभिन्न राष्ट्रहरूले शान्ति र सहकार्यका सन्देश दिने गरेका छन्।