पियोर इनर्जीको आईपीओ चैत २८ गतेदेखि, सर्वसाधारणका लागि आवेदन खुला

काठमाडौ । ऊर्जा क्षेत्रमा लगानी बढाउँदै आएको पियोर इनर्जी लिमिटेडले यही चैत २८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) खुला गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९५ हजार २ सय कित्ता शेयर सार्वजनिक निष्कासन गर्दैछ, जसको कुल रकम ११ करोड ९५ लाख २० हजार रुपैयाँ हुन्छ।

आईपीओमा सहभागी हुन चाहने व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर प्रणाली मार्फत दिन सकिनेछ।

सर्वसाधारणका लागि आवेदन दिने समयसीमा वैशाख २ गतेसम्म तोकिएको छ। तोकिएको अवधिमा पूरै सेयर नबिकेमा आवेदन दिने म्याद वैशाख ११ गतेसम्म लम्ब्याइनेछ।

CARE रेटिङ नेपालले पियोर इनर्जीलाई दिएको CARE-NP BB रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले यसअघि स्थानीयवासीका लागि १ लाख ६० हजार कित्ता र विदेशमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता सेयर जारी गरिसकेको छ।

२० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरिरहेको यस कम्पनीमा गोल्यान समूहको लगानी छ भने बिक्री व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। परियोजनाको कुल लागत करिब २ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेको जनाइएको छ।