सेमजोङमा १५ औं वाका कप सुरु

धादिङ । नेत्रावती डवजोङको सेमजोङमा १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप 9A साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रबाट आएका २५ टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले २ लाख २ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ भने दोस्रो हुने टोलीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, गोलरक्षक र गोलकर्ता जनही ५ हजार रुपैयाँ पुरस्कारका हकदार हुनेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक छार वाका क्लबले बेङरुङ युवा क्लबलाई १–० ले पराजित गर्दै सफल सुरुवात गरेको छ।

उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य गोबिन्द लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशासकीय अधिकृत हरेराम साह र वडा नम्बर ३ का अध्यक्ष सुरेश गुरुङसहित विभिन्न स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने वाका राहा क्षेत्रको प्रवर्द्धन तथा युवाहरूमा खेलप्रतिको रुचि बढाउने उद्देश्यले यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आएको आयोजक क्लबले जनाएको छ।