अज्ञात समूह द्वारा रुबी भ्याली न्यायिक समितिको भवन तोडफोड, अनुसन्धान जारी

सेर्तुङ, धादिङ । रुबी भ्याली गाउँपालिकाको न्यायिक समितिको भवनमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ। स्थानीय प्रहरी प्रशासनका अनुसार भवनका झ्याल, ढोका तथा अन्य सामग्रीमा क्षति पुगेको छ।

गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले कानुनभन्दा माथि कोही नभएको भन्दै यसप्रकारको विध्वंसक कार्य निन्दनीय रहेको बताए। उनले आफू गाउँ बाहिर रहँदा भवनमा आक्रमण गर्नु योजनाबद्ध जस्तो देखिने बताएका छन्। “कुनै पनि विषयमा चित्त नबुझेमा छलफल गर्न सकिन्छ, यसरी तोडफोड गर्नु दुर्भाग्य पूर्ण छ। दोषी जोसुकै भए पनि कडा कारबाही गरिन्छ,” उनले भने।

घटनापछि प्रहरी अनुसन्धान तीव्र पारिएको छ। सेर्तुङ प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरीक्षक राजु लामिछानेका अनुसार दोषी पहिचान गर्न अनुसन्धान भइरहेको छ। “हामी घटनास्थलबाट प्रमाण संकलन गरिरहेका छौँ। दोषी पहिचान भए तुरुन्त कानुनी कारबाही अघि बढाइनेछ,” उनले जानकारी दिए।

हालसम्म घटनाको कारण स्पष्ट नभए पनि व्यक्तिगत रिसिइबी वा राजनीतिक असन्तुष्टि कारण हुनसक्ने अनुमान गरिएको छ।