रूबीभ्याली गाउँपालिका द्वारा मेलमिलापकर्ता तालिमका लागि आवेदन खुला

धादिङ । रूबी भ्याली गाउँपालिकाले स्थानीय तहमा न्यायिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेलमिलापकर्ता तालिम सञ्चालन गर्ने भएको छ। न्यायिक समितिको पहलमा ४८ घण्टे तालिम प्रदान गरिनेछ, जसका लागि इच्छुक व्यक्तिहरूले सुचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

गाउँपालिकाका अनुसार, स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि गर्दै मेलमिलाप प्रक्रियालाई व्यवस्थित गर्न तालिम आयोजना गरिएको हो। तालिममा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूलाई कम्तीमा एसईई (SEE) उत्तीर्ण भइसकेको हुनु पर्नेछ। साथै, रूबी भ्याली गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरू मात्र आवेदन दिन योग्य हुनेछन्।

आवेदनका लागि आवश्यक कागजातहरू:

निवेदनसहित पासपोर्ट साइजको फोटो – २ प्रति।

नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति।

शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति।

तालिममा सहभागी हुन चाहने व्यक्तिहरूले आवश्यक कागजातसहित रूबी भ्याली गाउँपालिकाको न्यायिक सहायक कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

सम्पर्क व्यक्ति:
न्यायिक सहायक सरिता तामाङ (फोन: ९८४५५२८५०७)

स्थानीय तहमा मेलमिलाप प्रक्रियालाई सहज बनाउन पहल

गाउँपालिकाले स्थानीय तहमा सुलभ न्याय सेवा प्रवाह गर्ने उद्देश्यले मेलमिलाप प्रक्रियामा दक्ष जनशक्ति तयार गर्न लागिएको जनाएको छ। मेलमिलापकर्ताहरूले स्थानीय विवादहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तालिमका लागि आवेदन दिने समय सीमित भएकाले इच्छुक उम्मेदवारहरूले छिटो निवेदन दिन अनुरोध गरिएको छ।