काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई)ले गैरकानुनी गतिविधिमा संलग्न नेपाली कामदारलाई देश निकाला गर्न थालेको छ। पछिल्ला महिनाहरूमा डिपोर्ट हुनेको संख्या बढ्दै गएको छ, जसमा मुख्यतः मादक पदार्थ सेवनपछि झगडा गर्ने तथा नियम उल्लङ्घन गर्नेहरू परेका छन्।
अबुधाबीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई यूएईका कानुन, नियम र सामाजिक आचारसंहिताको पालना गर्न आग्रह गरेको छ। दूतावासका अनुसार पछिल्लो ६ महिनामा २,५०० भन्दा बढी नेपालीलाई डिपोर्ट गरिएको छ भने विभिन्न अपराधका कारण ३०० भन्दा बढी नेपाली जेलमा छन्।
दूतावासले नेपाली समुदायलाई आफ्नो पेशाप्रति इमानदार, अनुशासित र जिम्मेवार रहन अनुरोध गर्दै, अनावश्यक झैझगडा तथा गैरकानुनी गतिविधिबाट टाढा रहन सचेत गराएको छ। यूएईमा हाल करिब ६ लाख नेपाली कार्यरत रहेका छन्।