शिक्षक महासङ्घको आन्दोलनः भोलिदेखि राजनीतिक दलका कार्यालय घेराउ

काठमाडौ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन छिटो जारी गराउन दबाब दिन विभिन्न राजनीतिक दलका कार्यालयहरू घेराउ गर्ने भएको छ। महासङ्घले फागुन २७ गतेदेखि चैत्र ५ गतेसम्म प्रमुख दलहरूको केन्द्रीय कार्यालयमा चरणबद्ध धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ।

महासङ्घका अनुसार फागुन २७ गते नेपाली कांग्रेस, फागुन २८ गते नेकपा एमाले, चैत्र १ गते नेकपा माओवादी केन्द्र, चैत्र २ गते नेकपा एकीकृत समाजवादी, चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत्र ४ गते जसपा, लोसपा, र राजमो तथा चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति, र राप्रपाको कार्यालय घेराउ गरिनेछ।

विद्यालय शिक्षा ऐन लामो समयदेखि पारित हुन नसकेको भन्दै महासङ्घले माघ २० गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। महासङ्घले संसद्को सम्बन्धित समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने माग राखेको छ।

महासङ्घले चैत २० गतेदेखि काठमाडौँमा अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा समेत गरेको छ। नयाँ ऐन जारी नभएसम्म आन्दोलन जारी रहने महासङ्घले जनाएको छ।