धादिङ । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धादिङबेसीमा आयोजित मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगितामा नीलकण्ठ नगरपालिका विजयी भएको छ।
धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा र धादिङ जिल्ला कबड्डी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले सिद्धलेक गाउँपालिकालाई ५५–४० को अन्तरले पराजित गरेको हो।
धादिङबेसीस्थित कभर्डहलमा सम्पन्न खेलमा नीलकण्ठले उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। उपविजेता सिद्धलेकले मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिता समापन समारोहमा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, नीलकण्ठ वडा नं १४ का अध्यक्ष नवराज दुवाडी, एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष विनोद रिजाल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दुर्लभ तामाङ, र पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको उपस्थिति थियो।
खेलकुद विकास र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउँदै धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तामाङले आगामी दिनमा थप प्रतियोगिताहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।






