पाटनबाट अपहरित ४ वर्षीय बालकको १४ घण्टापछि यसरी भयो उद्धार: एक भियतनामी पक्राउ

काठमाडौ । बेलुकी साढे ८ बजेतिरको कुरा हो। पाटन दरबार क्षेत्रमा चिया बेच्ने एक महिलाका ४ वर्षीय छोरा गत बिहीबार (माघ २४) बेपत्ता भए।  

छोरालाई नदेखेपछि ती महिलाले यताउता खोजिन्। कहीँ पनि देखिनन्। छोरो फेला नपरेपछि उनले नजिकै रहेको प्रहरी प्रभाग मंगलबजारमा निवेदन दिइन्। 

बालक खोजीका लागि प्रहरीमा सर्कुलर जारी भयो। राति सवा ११ बजेपछि जानकारी पाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली १४ घण्टापछि बालक लिएर भारत भाग्न लागेका भियतनामी नागरिकलाई पक्राउ गर्न सफल भयो। कलंकीको होटलबाट बालकको उद्धार पनि भयो। 

प्रहरीले वीरगन्ज हुँदै भारत भाग्न लागेका भियतनामी नागरिक २३ वर्षका माइ होआङ किन्ह्लोन पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। 

उनले ती बालकलाई पाटनबाट ट्याक्सीमा हालेर धेरै ठाउँ डुलाउँदै बसमा भारत लैजान लागेको खुलेको छ। तर बालक अपहरण गर्ने उनको योजना केही महिनापहिलेकै रहेको प्रहरीको निष्कर्ष छ। बालकलाई अपहरण गर्नकै लागि उनी केही महिनादेखि नजिकिएको खुलेको छ। 

क्रिसमसदेखि नजिकिएका थिए अपहरणकारी
भियतनामको चाइवाङ सिटीका माइ होआङ सन् २०२३ डिसेम्बर २७ मा पहिलोपटक नेपाल आएका थिए। उनी त्यतिबेला नेपालमा ११ दिन मात्रै बसे। ११ दिनपछि उनी भारतको नयाँ दिल्ली गए। 

चार महिना भारतको पञ्जाबमा बसेर उनी नेपाल फर्किए। २७ अप्रिल २०२४ मा उनी पञ्जाबबाट सडकमार्ग हुँदै नेपाल आएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। 

नेपाल आएपछि पनि उनी एक ठाउँमा बसेनन्। विभिन्न होटलहरू चाहरे। सुरुमा स्वयम्भूको एउटा होटलमा २ महिना बसे। त्यहाँबाट ठमेल गए। ठमेलमा पनि एक हप्ता मात्रै बसेर सरे। 

त्यहाँबाट बानेश्वरको कात्यायनी चोकमा रहेको होस्टलमा बस्न थाले। त्यहाँ भने उनी ६ महिनादेखि बसिरहेका थिए। 

उनी काठमाण्डौँको स्वयम्भू, कपन, बौद्ध लगायतका विभिन्न गुम्बाहरूमा लामा भाषा सिक्नको लागि जाने गरेको खुलेको छ। 

कहिलेकाहीँ घुमफिरको लागि ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा जाने गरेको उनले प्रहरीलाई बताएका छन्। 

घुमफिरकै क्रममा गत डिसेम्बर २५ मा क्रिसमस मनाउने सिलसिलामा पाटनको कृष्ण मन्दिर प्रांगणमा पुगेका थिए। त्यहाँ हाल अपहरण गरेका बच्चाको दाइसँग उनको भेटघाट भएको थियो। 

भेटघाटमा कुराकानी गरे, चिप्स, चकलेटहरू किनिदिए। दाजुभाइलाई खानेकुरा दिएर उनले सम्बन्ध बढाए। त्यसपछि पनि पटक–पटक उक्त स्थानमा गएर बालकहरूसँग खेल्ने र खाने कुरा दिन्थे। 

माघ २४ गते बेलुका साढे ८ बजेको समयमा उनी पुनः ललितपुर महानगरपालिका १२ स्थित पाटन मंगलबजारमा पुगे। 

बच्चाहरू नजिकै खेलिरहेका थिए, आमा त्यहीँ चिया बेच्दै थिइन्। तर भियतनामी युवकले बालकलाई डोहोर्‍याउँदै लगे। बालककी आमाले त्यो सुइँको पाइनन्। 

उनले छोरा हराएपछि मंगलबजार प्रहरी प्रभागमा जानकारी दिइन्। प्रभागका प्रहरीले पनि खोजतलास गरे। फेला पारेनन्। त्यसपछि उनीहरूले माथिल्लो युनिटमा जानकारी गराए। 

राति ११ बजेर २३ मिनेटमा जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोलबाट खोजतलासको लागि उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेलमा जानकारी पुग्यो। 

त्यसपछि तत्कालै प्रहरी निरीक्षक शिव थापाको कमान्डमा बालकको खोजतलासको लागि प्रहरी टोली परिचालन गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए। 

प्रहरीले सुरुमा बालक हराएको स्थान आसपासका सीसीटीभी फुटेज संकलन गर्‍यो। फुटेज हेर्दा बेलुका ८ः४४ बजे कृष्ण मन्दिरनजिकै ढालचा चोकबाट अपरिचित व्यक्तिले बालकलाई लिएर अलिक पर पुगेको र ट्याक्सीमा चढेका देखियो। प्रहरीले बालककी आमालाई ती अपहरण गर्ने व्यक्तिको फुटेज देखाए पनि उनले चिनिनन्। प्रहरीको अनुसन्धान अनि ट्याक्सीमा केन्द्रित भयो। 

ट्याक्सी इन्ड्राइभ मार्फत बुक गरेको खुल्यो। तर त्यो ट्याक्सी झम्सिखेलसम्म मात्रै पुगेको थियो। त्यहाँबाट पुनः अर्को ट्याक्सीमा चढेर सुन्धारास्थित गुरु होटलमा गएर बसेका थिए।

भोलिपल्ट बिहान १०ः२५ बजे काठमाडौँबाट वीरगन्ज जाने न्यु साजनको बस नं ६८१८ को बी ३ र ४ सिटको टिकट बुक गरेको खुलेको थियो। उनी बालकलाई पनि लिएर कलंकीस्थित मकालु पेट्रोल पम्प नजिक रहेको इलाम मेची गेस्ट हाउसको कोठामा बसिरहेका थिए। प्रहरीले उनीहरू बसेको स्थान पत्ता लगाएपछि इलाम मेची गेस्ट हाउसको कोठा नं १०७ बाट बालकलाई सकुशल उद्धार गरेको थियो। 

अपहरणमा संलग्न भियतनामी युवक पनि सोही कोठाबाट पक्राउ परेका हुन्। उनले बालकलाई लिएर वीरगन्ज हुँदै भारतको पन्जाब जान लागेको प्रहरीको भनाइ छ। 

पक्राउ परेका भियतनामी नेपाली बोल्न सक्छन्। उनले अरु १७ वटा भाषा आफूलाई आउने पनि बताएका छन्। उनको साथबाट प्रहरीले ३ वटा मोबाइल, एउटा ल्यापटपप, भियतनामी मुद्रा २० हजार, नक्कली भारतीय आधारकार्ड २ थान र चक्कु पनि बरामद गरेको छ। 

उनीमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।