बेनिघाट रोराङमा बृहत् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका चरौँदीमा बृहत् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आज उद्घाटन गरिएको छ ।

शिक्षाको लागी भिक्षा भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना गरिएको महायज्ञको उद्घाटन राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले गरेका छन् ।

स–साना बालबालिकाहरुको भबिष्य उज्वल बनाउन बेनिघाट रोराङ गाउँपालिकाले नमुना कामको रुपमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको शुभारम्भ गरेको हो । बेनीघाट रोराङ गाउँपालिका शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि कालिका आवासिय विद्यालय सञ्चालनमा छ ।

उच्च कुपोषण, भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चुनौतिसँग जुधिरहेको बेनिघाट रोराङ गाउँपालिकामा कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञमा राधिका दासीको मुखारविन्दबाट कथा वाचन भईरहेको छ ।

बिशेषगरि बेनिघाट रोराङ गाउँपालिकामा चेपाङ, तामाङ लगायतको बाहुल्यता रहेको छ । भौगोलिक दृष्टिकोणलेपनि शिक्षामा पछाडी परेको यस पालिकाले सप्ताह लगाएर पनि एकिकृत आवासिय बिद्यालयको परिकल्पना गर्दै शिक्षा सुधारमा यति ठूलो महान काम गर्न लागीएको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले जानकारी दिनुभयो ।

स्रोत: बागमती दैनिकी