धादिङ बेसिमा बृहत सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होसार मनाइयो

धादिङ । तामाङ समुदायको महान पर्व अर्थात माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज धादिङमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ धादिङ द्वारा धादिङबेसी खुल्ला मञ्चमा जारी लोक सांस्कृति महोत्सवकै बिच तामाङ भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरी सोनाम ल्होसर मनाएका हुन् ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष शुरु भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पछीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्कृतिविद् बताउँछन् । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले विहिबार देशभर सार्वजनिक बिदा दिएको थियो ।