धादिङ अस्पतालको अध्यक्षमा राधिका सापकोटा मनोनित

धादिङ । धादिङ जिल्लाको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालको संचालन तथा ब्यबस्थापन समितिको अध्यक्षमा राधिका सापकोटा लाई मनोनित गरिएको छ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको  मिति २०८१।०९।०७ को निर्णयानुसार सापकोटालाई अध्यक्षमा मनोनित गरिएको हो।

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरि दफा २६क. उपदफा (२) बमोजिम अध्यक्ष पदमा सापकोलाईलाई मनोनित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।

गल्छी गाउँपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम धादिङबेसीमा वसोवास गर्दै आईरहेकी सापकोटा नेकपा एमाले धादिङका सचिव समेत हुनुहुन्छ ।

अध्यक्षमा सापकोटाको नियुक्तिसँगै अस्पतालको नेतृत्वले व्यवस्थापनमा नयाँ दृष्टिकोण र सेवाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । गत असार देखि अस्पताल अध्यक्ष विहिन रहेको थियो ।

 बागमती प्रदेश अन्तर्गतको  धादिङ अस्पताल, धादिङमा विशेषज्ञ सेवा विस्तार हुँदै गएसँगै बिरामीको संख्या पनि वृद्धि भएको छ। अस्पतालमा अहिले १५० जना कर्मचारी कार्यरत छन् भने ति मध्ये १५ जना बिशेषज्ञ चिकित्सक,२५ जना मेडिकल अधिकृत र अन्य सेवाका ४० जना चिकित्सकहरु रहेका छन् ।

२०४७ सालदेखि १५ शय्याको अस्पतालको रुपमा स्थापना भएको धादिङ अस्पताल २०७५ सालमा बागमती प्रदेश मातहतमा रहेपछि ५० शय्याको रुपमा विकास भएको थियो। सो समयदेखि नै अस्पतालले विशेषज्ञ चिकित्सक सहितको सेवाहरु दिदैं आएको छ। २०८० सालदेखि अस्पताललाई एक सय शय्यामा सञ्चालन गर्ने योजना अनुसार थप सेवाहरु विस्तार हुदैं गएको छ।

अस्पतालले हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा सञ्चालन गरिरहेको छ।
अस्पतालमा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितिको विशेषज्ञ ओपिडी सेवा सञ्चालनमा छन्।