राष्ट्रिय सम्मेलनमा जुट्यो अखिल क्रान्तिकारी

काठमाडौं । लामो समयदेखि सांगठनिक भद्रगोलमा गुज्रिएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । राष्ट्रिय सम्मेलन आउन करिब डेढ महिना बाँकी रहँदा नेताहरु देश दौडाहा, सदस्यता वितरण, कमिटीका बैठक लगायतमा व्यस्त छन् ।

संगठन आन्तरिक विवादमा फसेको बेला अध्यक्ष पञ्चा सिंहविरुद्ध युद्धकालीन मुद्दामा पक्राउ पुर्जी जारी हुँदा र महासचिव दिपेश पुन सहकारी प्रकरणमा मुछिएर पक्राउ पर्दा अखिल क्रान्तिकारी निष्कृय भएको थियो । नेता कार्यकर्ताहरु अन्यौलको स्थितिमा थिए । अहिले राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा बल्ल उनीहरु सल्बलाउन थालेका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आगामी असोज २ गतेदेखि ५ गतेसम्म चितवनमा हुँदै छ । राष्ट्रिय सम्मेलनले संगठनको नीति, विधि, कार्यक्रम र नयाँ नेतृत्वसमेत चयन गर्नेछ । तर शैक्षिक बहसमा भन्दा बढी नयाँ नेतृत्वमा चासो हुने गरेको छ ।

हाल अखिल क्रान्तिकारीमा १ हजार ५०० सदस्यीय जम्बो केन्द्रीय समिति छ । पदाधिकारी नै १७८ सदस्यीय छ । त्यसैले राष्ट्रिय सम्मेलनबाट चुस्त समिति बनाउने चुनौती नेताहरुलाई छ ।

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा २१ सदस्यीय पदाधिकारी कमिटी थियो । पछि त्यसमा समेट्नै पर्ने केही नेताहरु छुट्ने भन्दै ३३ सदस्यीय पदाधिकारी बनाउने विषयमा छलफल भइरहेको थियो । असन्तुष्ट पक्षले समानान्तर गतिविधि गरिरहेका बेला संगठनमा चर्चित जुम बैठकबाट १७८ सदस्यीय पदाधिकारी कमिटी बनाइएको थियो । यो जम्बो कमिटीलाई राष्ट्रिय सम्मेलनबाट घटाउने नेताहरु बताउँछन् ।

३२ वर्षे उमेर हदको बहस

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने बहस हुँदै आएको छ । उमेर हदको बहस अघिल्ला राष्ट्रिय सम्मेलनदेखि नै हुँदै आएको हो तर लागु हुन सकेको छैन ।

आगामी राष्ट्रिय सम्मेलन नजिकिँदै गएको बेला पनि उमेर हदमा बहस भइरहेको छ । तर यसपटक यो विषय राष्ट्रिय सम्मेलनबाटै टुंगो लगाउने तयारी भइरहेको अखिल क्रान्तिकारीका नेता उपदेश यादव बताउँछन् ।

राष्ट्रिय सम्मेलनकै बेला विधान सम्मेलन गरेर केन्द्रीय कमिटी र पदाधिकारी संख्या विधानमा निश्चित गर्ने र उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
अखिल क्रान्तिकारीको एउटा बैठकमा पार्टी अध्यक्ष प्रचण्डले उमेर हदको प्रसंगमा स्पष्ट अभिव्यक्ति नदिएको नेताहरु बताउँछन् । ‘पार्टी अध्यक्षले सुरुमा उमेर हद लागू हुने भन्नुभयो ।

तर लगत्तै फेरि आसन ग्रहण गरिरहेका उपाध्यक्षको टोलीतिर हेरेर तपाईंहरुलाई अन्याय नहुने गरी उमेर हद लागु गर्ने भन्नुभयो,’ अखिल क्रान्तिकारीका एक नेताले भने, ‘उहाँको यो भनाइ अलि स्पष्ट थिएन ।’

ती नेताका अनुसार यदि उमेर हद लागू भएमा अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहदेखि महासचिवसम्म र केही उपमहासचिवसम्मका नेताहरु अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिन्छन् ।

कोको छन् नेतृत्वको दाबेदार ?

उमेर हद लाग्ने कि नलाग्ने भन्ने अनिश्चितताका बीच अध्यक्षका दाबेदारहरु निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने भन्दै आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् ।
हालसम्मको अवस्था हेर्दा अखिल क्रान्तिकारीको अध्यक्षमा आधा दर्जनभन्दा धेरै नेताहरु दाबेदार छन् ।

अध्यक्षका दाबेदारहरुमा दिपेश पुन, उपाध्यक्षहरु पवन कार्की, नरेश रेग्मी, इन्द्र भुसाल, नारायण खनाल, क्षितिज सापकोटा, मदन भुल लगायत छन् । यसैगरी प्रविणा अधिकारी, तुकमान महरा र केशव रावल पनि अध्यक्षका दाबेदार छन् ।

दिपेश राम्रो सम्भावना बोकेका युवा थिए तर उनी बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएर विवादित भए । उनी गत वैशाखमा मात्रै धरौटीमा रिहा भएका थिए । त्यसयता उनी संगठनका सार्वजनिक कार्यक्रमहरुमा त्यति सक्रिय देखिँदैनन् ।

पवन कार्कीले अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर गतिविधि गरेका थिए । त्यसबेला उनले कार्यकर्ता परिचालन गर्न र संगठनलाई गतिशिल बनाइराख्न सक्ने क्षमता भएको नेताको रुपमा आफूलाई प्रस्तुत गरेका थिए । त्यसैले अध्यक्ष पञ्चा नेतृत्वको कमिटीले कारबाहीको निर्णय गरे पनि पार्टी अध्यक्ष प्रचण्डको प्रत्यक्ष हस्तक्षेपमा उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

अर्का उपाध्यक्ष नरेश रेग्मी बौद्धिक विद्यार्थी नेताको रुपमा परिचित छन् । उनले नियमित शैक्षिक बहस चलाउने गर्दछन् ।

उपाध्यक्ष रेग्मी राष्ट्रिय सम्मेलनमा संगठनको संरचना, शैक्षिक दृष्टिकोण र उमेरहद लगायत समग्र विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताउँछन् ।

‘हामी लामो समयदेखि सांगठनिक भद्रगोलताबाट गुज्रिरहेका छौं । त्यसैले राष्ट्रिय सम्मेलनमा संगठनको संरचना कस्तो बनाउने भन्ने विषयमा पनि छलफल हुन्छ । यो प्रमुख विषयहरुमध्ये एक हो, तर सबैभन्दा महत्वपूर्ण होइन,’ रेग्मी भन्छन्, ‘शैक्षिक दृष्टिकोण र धारणाहरु निर्माण हामी वामपन्थी विद्यार्थीहरुका लागि झन् बढी महत्वपूर्ण छ । त्यसैले यो विषयमा छलफल नगरी को अध्यक्ष हुने, को सदस्य हुने भन्ने विषयहरुमा केन्द्रित हुने हो भने राष्ट्रिय सम्मेलन अपूर्ण हुन्छ ।’

उनले राष्ट्रिय सम्मेलनबाट उमेर हदबन्दीको विषयमा पनि छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।

स्रोत : अनलाइन खबर