काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बन्न दुई आधार तय गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शनिबार बसको केन्द्रीय कार्यसम्पादन बैठकले दुई आधारमा मन्त्री चयन गर्ने निर्णय गरेको हो।
कांग्रेका प्रवक्ता प्रकाशरण महतले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय भएको बताए। ‘मन्त्री चयन गर्दा कांग्रेसमा समावेशिता र प्रादेशिक सन्तुलन मिलाउने निर्णय गरेको छ,’ उनले भने।
त्यस्तै बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। गत असार १७ गतेको भएको सहमतिअनुरूप कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुने प्रवक्ता महतको भनाइ छ।
कांग्रेस र एमालेको समर्थनमा अध्यक्ष ओलीले शुक्रबार नै प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि संसदका दुई ठूला दल कांग्रेस र एमालेले शुक्रबार राति साढे ९ बजे राष्ट्रपति कार्यालय पुगेर ओली नेतृत्वको सरकार गठनका लागि दाबी पेस गरेका हुन्।