उद्धार तथा खोजीमा ‘त्रिशूली रिभरसाइड रिसोर्ट’को टिम खटियो

चितवन । त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्धारकार्यका लागि जुटेको छ । साहसिक खेल मात्र नभइ उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुवाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ । जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोलीहरू खटिएका छन् ।

मलेखुस्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।

सिमलतालदेखि गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सञ्चालक उद्धव कँडेलले बताए। र्‍याफ्टिङ गाइड समेत रहेका उद्धव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।