रुबीभ्याली गाउँपालिकाले माध्यमिक तह सम्मको शिक्षा निशुल्क बनायो: अनुदान शिक्षकको तलब वृद्धि

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाले कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई निशुल्क गरेको छ । जिल्ला कै विकट स्थानीय तहको रुपमा परिचीत यस गाउँपालिकाको गत असार १० गते सम्पन्न आर्थिक बर्ष २०८१/८२ को बजेटको नीति तथा कार्यक्रम मार्फत
निशुल्क शिक्षा बनाएको हो । यो कार्यक्रमले आर्थिक रुपमा कमजोर, भौगोलिक रुपमा विकट रहेका स्थानीय विद्यार्थीहरुलाई पठनपाठनमा ठुलो राहत हुने आशा गरिएको छ । त्यस्तै गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा नै नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्यनरत पालिका भित्रका विद्यार्थीहरुलाई निशुल्क गरिसकेको छ ।

त्यस्तै गाउँपालिका भित्र कार्यरत पालिका अनुदान र बाल बिकास शिक्षकहरुको पनि तलब वृद्धि गरिने बजेटमा उल्लेख छ । यद्यपि हाल सम्म कुन तहलाई कति तलब वृद्धि गरिने भनेर निर्णय नभै सकेको र छिट्टै नयाँ तलब सार्वजनिक गर्ने तयारीमा गाउँपालिका रहेको छ । साथै अब नियुक्ति हुने नयाँ अनुदान शिक्षकहरुको अनिवार्य शिक्षक लाइसेन्स हुनु पर्ने भनिएको छ ।