यस बर्ष मनसुनजन्य विपदबाट १८ लाख मानिस प्रभावित हुने आँकलन

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित हुने आकलन गरेको छ ।

यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । गत २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो । गृह मन्त्रालयका अनुसार यस वर्ष प्रत्यक्ष प्रभावित हुनसक्ने घर परिवारको संख्या ८३ हजार र उद्धार तथा राहत दिनुपर्ने घर परिवारको संख्या १८ हजार हुने अनुमान छ ।

यसवर्षको मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आङ्कलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

नेपाली सेना १० हजार ८४७, नेपाल प्रहरी १० हजार ५८५ र सशस्त्र प्रहरी बल ९९२४ जना परिचालन गर्ने योजना छ । यी बाहेक स्काउट लगायतका स्वयंसेवक पनि परिचालन गर्ने योजना । गतवर्ष १० हजार ५१८, नेपाल प्रहरी ११ हजार ६६१ र सशस्त्र प्रहरी बल ९ हजार ४९० जना परिचालित भएका थिए ।