जिल्ला आयुर्वेद औषधालय धादिङ १६ सैयामा स्तरोन्नति

धादिङ । नीलकण्ठ ३ धादिङबेसीमा रहेको जिल्ला आयुर्वेद औषधालयलाई १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा विस्तार गरिएको हो ।

स्तरोन्नति भएसंगै चिकित्सालयले १६ बेडको अस्पताल सन्चालन गर्न लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डाक्टर अमुल्य दाहालले बताए । ‘चिकित्सालयले अब अस्पताल भवन निर्माण गरी १६ शैयाको अस्पताल मार्फत सेवा प्रदान गर्न लागेको हो’ उनले भने– ‘संविधानले पनि स्थानीय तहको १५ वेड, प्रदेश अस्पताल २५ वेड हुनुपर्ने भनेको छ । भौतिक संरचना, वजेट लगायत विविध कारण २५ सैयाको सञ्चालन गर्न समस्या भएर १६ सैया क्षमता सञ्चालन गरिएको हो ।’

अस्पताल निर्माणका लागि जग्गा लिने प्रक्रिया अघि बढी सकेको उनले बताए । ‘अब औषधालय आएका विरामीलाई भर्ना गरेर सेवा पनि दिने तयारीमा छौं । जग्गा किन्ने र नयाँ भवन निर्माणको काम पूरा नहुन्जेल अहिले तत्कालका लागि घर भाडामा लिएर १६ सैया क्षमताको सेवा प्रवाह गर्छाै’ उनले भने ।

धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्थाहरू सञ्चालित छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र रहेका छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि विरामीहरुलाई चौविसै घण्टा सेवा दिन सकिने चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ ।

१६ सैयाको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको र औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रुपले सेवा दिन अप्ठ्यारो हुने गरेको उनले बताए ।

आयुर्वेद औषधालय वैकल्पिक उपचार विधि अन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याव, अकुपंचर सेवा, पुर्वकर्म र पंचकर्म सेवा, फिजिओथेरापी लगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्ष भन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सक इना श्रेष्ठले बताइन् । ‘हाल दैनिक २५ जना भन्दा माथि चेकचाँज गर्न विरामीहरु आउँछन् । सेवा लिन आएका विरामीहरु मध्ये हाँडजोर्नी नशासम्बन्धिको विरामी बढी रहेका छन् । धादिङ र गोर्खाका विभिन्न ठाउँबाट सेवाग्राही सेवा लिन आउने गरेका छन्’ उनले भनिन् ।

भान्साघर औषधालय कार्यक्रम महिला तथा आमा समुहमा सञ्चालन गरिएको छ । कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा प्रशिक्षण गरिदै आएको छ ।