गोरखामा हिमताल फुट्दा चुननुब्रीमा भीषण बाढी: एउटा पुल बग्यो

काठमाडौ । गोरखाको चुननुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। 

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

‘बाढी काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले केहीबेरअघि नेपालखबरसँग भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ। क्षतिको थप विवरण आइसकेको छैन।’

ताल रहेको क्षेत्र चुननुब्री- १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने पाठकले बताए। 

‘त्यहाँ मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति नगरेको हुनसक्छ,’ उनले भने, ‘माथिबाट हिउँ पग्लिएर ताल भरिएपछि फुटेको आशंका हामीले गरेका छौँ। स्थलगत अध्ययनपछि यथार्थ थाहा होला।’