नेदरल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं। नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ ।

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए ।  त्यस्तै कुशल भुर्तलेले १२ र आसिफ सेखले ८ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट  लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

योसँगै सिरिजमा नेपालले ४ खेलमा दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ ।  त्यस्तै नेदरल्याण्डसले ३ खेलमा ४ अंक हासिल गरेको छ ।

त्यस्तै नामिबियाले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । अब आइतबार हुने नामिबिया र नेदरल्याण्डसबीचको खेलपछि मात्र फाइनलमा पुग्ने २ देशको टुंगो लाग्ने भएको छ ।