धादिङमा आयुर्वेद सेवा प्रवर्द्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया

धादिङबेशी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भने नाराको साथ आयुर्वेद सेवा प्रवर्द्धनका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा आर्थिक बर्ष २०८०/८१ मा आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले गरेको सेवाको बारेमा कार्यालयका प्रमुख डा. अमुल्य दाहालले जानकारी गराउनु भएको थियो । चालु आर्थिक वर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट १४ हजार ३ सय ९२ जनाले सेवा लिएको दाहालले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले २३ प्रकारको औषधीहरु निशुल्क वितरण गर्दै आएको डा. दाहालको भनाई छ ।

त्यसैगरी कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट प्रदान गरिने बहिरंग सेवा, फिजियोेथेरापी सेवा, औषधि वितरण, सशुल्क फार्मेसी सेवा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमा कार्यक्रम, जनचेतना मुलक कार्यक्रम लगाएतको सेवाहरु बारेमा जानकारी गराइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले स्वास्थ्यलाई ध्यान दिदै आयुर्वेद पद्धतीलाई जोड दिनु पर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । आयुर्वेदको महत्व छायाँमा परेको भन्र्दै प्रचार प्रसारमा संचारकर्मीहरूले जोड दिनुपर्नेमा उहाँको जोड थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका अध्यक्ष भरत ढुङ्गानाकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्रप्रसाद भट्ट, स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाको विशेष आथिथ्यता तथा कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।