न्याय माग्ने महिला हत्याको जोखिममा, वर्षदिनमा श्रीमान्‌बाटै मारिए १०९ जना

नेपालमा महिलाहरुको अधिकांश हत्या श्रीमान्‌को हातबाट भएको तथ्यांकले देखाएको छ। इन्सेकको मानवअधिकार वर्ष पुस्तक–२०२४ का अनुसार सन् २०२३ मा मात्रै १ सय ९ जना महिलाको श्रीमान्‌को हातबाट हत्या भएको छ।

सन् २०२३ मा जम्मा १८६ जना महिलाको हत्या भएको छ। त्यसमध्ये १०९ जनाको हत्या श्रीमान्‌कै हातबाट भएको हो।

दाइजोका नाममा मात्रै ७ जना महिलाको हत्या भएको छ। दाइजोकै कारण यो वर्ष हिंसामा पर्ने महिलाको संख्या ४५ छ। शरीरमा आगो लगाएर ३ महिलाको हत्या गरिएको छ। धारिलो हतियारको प्रहार गरी हत्या गरिएका महिलाको संख्या ४३ जना छ।

घरेलु हिंसा, बलात्कार तथा बोक्सीको आरोपमा महिलामाथि हुने दुर्व्यवहारमा कमी आएको छैन। 

अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष महिला हिंसाको घटना झन् धेरै भएका वर्ष पुस्तकमा उल्लेख गरिएको छ। यो प्रहरीमा उजुरी परेका घटनाको तथ्यांक मात्रै हो। प्रहरी कार्यालयमै नपुगेका हिंसामा परेको महिलाको संख्या झन् डरलाग्दो रहेको महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुको अनुभव छ। 

हत्याका घटना पनि सबै हत्याकै रुपमा सार्वजनिक नहुने गरेको, कतिपय हत्यालाई पनि आत्महत्या तथा स्वाभाविक मृत्युको नाम दिएर छिपाएका घटना पनि प्रशस्तै रहेको दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोब बताउँछिन्। 

उनी भन्छिन्, ‘समाजमा जति हिंसाका घटना भइरहेका छन्, तीमध्ये आधा मात्रै प्रहरीसम्म पुग्छन्, मुद्दा बन्छन् र संख्यामा गणना हुन्छन्। बाँकी त केही घरबाहिरै आउँदैनन्, केही प्रहरीसम्म पुगे पनि पीडितलाई दबाएर मिलापत्र गराइन्छ। हत्याका घटना पनि धेरै छिपाइन्छन्।’

वरिष्ठ अधिवक्ता मीरा ढुंगाना घरभित्रको महिला हिंसाको दर कम भएको खण्डमा हत्याको दर आफै घटेर जाने बताउँछिन्। महिला हिंसा कम गर्न भएका कानुन प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको तर्क छ।

चितवनकी रुस्मा आचार्य, जसको २०७९ साउनमा श्रीमान्‌द्वारा हत्या भएको र हत्यापछि श्रीमान्‌ले पनि आत्महत्या गरेको पाइएको थियो

‘महिलामाथि हुने हिंसा र अपराध घटेको छैन। यसको मुख्य कारण महिलाको आफ्नो घर नहुनु हो।  श्रीमान्‌्‌ वा परिवारको सदस्यविरुद्व उजुरी गरेपछि फर्किएर जाने फरक ठाउँ छैन। 

उजुरीपश्चात पनि महिलाले त्यही घरमा बस्नु पर्छ। कानुनी उपचारको बाटो लामो हुन्छ,’ उनी भन्छिन्, ‘यो बीचमा कतिपय महिलाले हिंसाको सिकार हुनु पर्छ भने कति महिलाले ज्यान समेत गुमाउनु पर्छ। यो वर्ष श्रीमान्‌को हातबाटै ज्यान गुमाएका १ सय ९ महिलाको हत्या पनि यसैको उपज हो।’

यस विषयमा अधिवक्ता राधिका खतिवडाको मत अलि फरक छ। कानुनको पहुँचमा महिला पुगेकै कारण हत्याको संख्या वृद्धि भएको अधिवक्ता खतिवडाको तर्क छ। 

‘पछिल्लो चरणमा महिला मैत्री कानुन निर्माण भए। महिलामा सचेतना बढेको छ। श्रीमान्‌ले जति ज्यादती गरे पनि सहेर बस्ने महिलाको स्थिति परिवर्तन हुँदै गएको छ। अहिले महिलाहरु आफू अन्यायमा परेपछि कानुनी उपचार खोज्छन्,’ अधिवक्ता खतिवडा भन्छिन्।

तर, कानुनी लडाइँकै क्रममा कतिपय महिलाको हत्या हुने गरेको र धेरै महिला हिंसामा पर्ने गरेको उनी सुनाउँछिन्।

उनका अनुसार पछिल्लो समय महिला हत्याका घटना वृद्धि हुनुमा पुरुष मनोविज्ञानले पनि काम गरेको छ। महिलाले घरभित्रको अत्याचार सहेर बाहिर नल्याउँदासम्म उनीहरुको हत्या हुँदैन। जब महिला आफूमाथि भएको हिंसाविरुद्ध कानुनी उपचार खोज्छन्, तब उनीहरुको हत्या हुन्छ।

‘महिलाको अधिकार प्राप्तिको लडाइँलाई पुरुषले आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर हेर्ने गरेको पाइन्छ। महिला जति शिक्षित र आत्मनिर्भर बन्दै जान्छन्, उनीहरूमा उजुरी गर्ने, बोल्न सक्ने सामथ्र्य पनि बढ्दै जान्छ। महिला बोलेपछि पुरुषको दम्भमा आँच आउँछ,’ उनले व्याख्या गरिन्, ‘उनीहरुले आफ्नो कमजोरी लुकाउन पनि महिलाहरुको हत्या गर्ने गरेको हामीले हेरेको कतिपय केसले देखाउँछ।’

मानव अधिकार आयोगकी सदस्य लिली थापा पनि हिंसाका घटना सार्वजनिक हुनुलाई सकारात्मक रुपमै लिन्छिन्। भन्छिन्, ‘तथ्यांक हेर्दा हिंसाको बढ्दो ग्राफ देखिन्छ, यो दुःखद पक्ष हो। तर, हिंसाविरुद्ध महिलाले कानुनी उपचार खोज्नु, बोल्नु र सहेर नबस्नु सुखद पक्ष हो। हिंसाका घटना रोकिएका छैनन्, तर यसको मतलव केही भएन भन्ने होइन।’

महिला हत्याको घटनालाई घरेलु हिंसासँग मात्रै जोड्नु नहुने समाजशास्त्री निर्मला ढकाल बताउँछिन्। ‘महिलाको हत्या भएको विषयलाई मेल पावरसँग जोडेर हेरिँदै आएको छ। यो हाम्रा लागि सजिलो भयो। हत्याको विषयमा मिहिन अध्ययन हुँदैन, घरेलु हिंसाका कारण हत्या भएको बताइन्छ। यसका थुप्रै कारण हुन सक्छन्, अपराधका बारेमा विस्तृत अध्ययन हुनु जरुरी छ,’ ढकाल भन्छिन्। 

आफन्तबाटै हुने यस्ता जघन्य अपराधका घटनामा अनुसन्धानकारी निकायको जिम्मेवारी ‘हत्या’ प्रमाणित गर्नु मात्रै हो। घरघरमा यस्तो मनोवृत्ति किन र कसरी फैलिइरहेको छ भन्ने तर्फ कसैको चासो नभएकोप्रति ढकाल चिन्ता व्यक्त गर्छिन्। 

‘जीवनभर सँगै बस्ने भनेर कबोल गरेको दम्पती किन एक–अर्कालाई मार्न कस्सिरहेको छ यसको मानसिकता माथि पनि अध्ययन हुनुपर्छ,’ ढकाल भन्छिन्।

प्रहरी अनुसन्धानले जटिल सामाजिक बन्धन, सम्पत्तिको विवाद, विवाहेत्तर सम्बन्ध, आर्थिक अभाव, जातीय विभेदका कारण धेरै महिलाले ज्यान गुमाउनु परेको देखाउँछ।