ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर, ६५ जनाको जग्गा जफत

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा  कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीसमेतलाई दोषी ठहर गरेको बताए । उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै, ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्नेुपर्ने फैसला समेत भएको प्रवक्ता कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार अदालतले ललिता निवासको जग्गा राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । उनका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।