रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको सीएनएनको पुष्टि

काठमाडौँ । रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले पुष्टि गरेको छ । 

सीएनएनले आइतबार एक रिपोर्ट प्रकाशित गर्दै रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको पुष्टि गरेको हो । 

निशान्त खनाल, सुगम पोखरेल, म्याथ्यु चान्स र मिहिर मेलवानी को ‘बाइलाइन’ प्रकाशित रिपोर्टमा रुसी सेनामा १५ हजार नेपाली कार्यरत रहेको विभिन्न स्रोतहरुबाट पुष्टि भएको  उल्लेख गरिएको छ ।

सीएनएनमा प्रकाशित रिपोर्टअनुसार रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने जानकारी लिन रुसी विदेश मन्त्रालयमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको उल्लेख छ । रुसले विदेशी सैनिकलाई भर्ती गर्नका लागि आकर्षक योजना अघि सारेसँगै ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती हुन त्यसतर्फ लागेको बताइएको छ ।

रुसले अघि सारेको योजनामा प्रतिमहिना २ हजार डलर तलब, छोटो समयमै रुसी पासपोर्टको व्यवस्थाजस्ता कारण र नेपालमा रहेको चरम गरिबी, बेरोजगारीजस्ता कारणले पनि नेपालीहरु रुसी सेनामा भर्ना हुने गरेका छन् ।

रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवा र रुसी सेनामा भर्ती भएका नेपालीका परिवार तथा आफन्तहरुसँगको कुराकानीका आधारमा उक्त रिपोर्ट प्रकाशित गरिएको सीएनएनले उल्लेख गरेको छ । 

सीएनएनको रिर्पोटमामा रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवाहरुले आफूहरुलाई छोटो समयको तालिमलगत्तै युद्धमोर्चामा खटाइएको र आफूहरुले युद्धको भीषण अनुभव गरेको सुनाएका छन् । 

यता, नेपाल सरकारले आधिकारिक रुपमा रुसी सेनामा कार्यरत १३ जना नेपालीको युद्धभूमिमा मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि वास्तविक संख्या अझै धेरै रहेको हुनसक्ने रुसी सेनाबाट भागेर आएका नेपालीहरु बताउाछन् ।