सरकारले आलुमा लगाएको १३ प्रतिशत भ्याटले उपभोक्ता र किसानलाई मार

काठमाडौँ । सरकारले पछिल्लो पटक आलुमा लगाएको १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) का कारणले उपभोक्ता मारमा परेका छन् । चालु आर्थिक वर्षमा आलुको मूल्य प्रतिकिलो करिब २६ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले आर्थिक विधेयक–२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलुमा लगाएको १३ प्रतिशत भ्याटका कारण आलुको मूल्यवृद्धि भएको हो ।

आर्थिक विधेयक–२०८० को एक साता अघि अर्थात जेठ ८ गते रातो आलुको मूल्य प्रतिकेजी ३६ रुपैयाँ ५० पैसा थियो । हाल सो आलुको मूल्य २६ दशमलब शून्य ३ प्रतिशतले वृद्धि भएर प्रतिकेजी ४६ रुपैयाँ पुगेको छ ।

जेठ दोस्रो साता भारतीय रातो आलु प्रतिकेजी ३१ रुपैयाँमा कारोबार भएको थियो । हाल सो आलुको मूल्य २५ दशमलब ८१ प्रतिशतले वृद्धि भएर प्रतिकिलो ३९ रुपैयाँ पुगेको छ ।

यस्तै, आर्थिक विधेयक ल्याउनुभन्दा एक साता पहिला प्रतिकिलो २९ रुपैयाँ ३३ पैसामा सेतो आलुको कारोबार भएको थियो । हाल सो आलुमा २८ दशमलब ४४ प्रतिशतले मूल्यवृद्धि भएर प्रतिकेजी ३७ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
आर्थिक विधेयक–२०८० को एक साता अघि र हालको आलुको मूल्य

बजेटको एक साता अघि र पछिमात्र कति फरक ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार आर्थिक विधेयक–२०८० सार्वजनिक हुनु एक साता अघि अर्थात जेठ ८ गते रातो आलु प्रतिकेजी ३६ रुपैयाँ ५० पैसा थियो । एक सातापछि अर्थात जेठ २२ गते २३ दशमलब ८४ प्रतिशत मूल्यवृद्धि भएर सो आलुको मूल्य प्रतिकेजी ४५ रुपैयाँ २० पैसा पुगेको थियो ।
यस्तै, प्रतिकिलो ३१ रुपैयाँ पर्ने भारतीय रातो आलुको मूल्य ३५ रुपैयाँ २० पैसा पुगेको थियो । सो मूल्य १३ दशमलब ५५ प्रतिशतले बढेको देखिन्छ ।
रातो मुडे आलु बजेट ल्याउनु एक साताअघि प्रतिकिलो ३६ रुपैयाँ ५० पैसा थियो । सोही आलुको मूल्य एक सातापछि १३ दशमलब २३ प्रतिशतले वृद्धि भएर ४१ रुपैयाँ ३३ पैसा प्रतिकिलो भएको थियो ।
प्रतिकलो २९ रुपैयाँ ३३ पैसाले कारोबार भएको सेतो आलुको मूल्य १८ दशमलब २१ प्रतिशतले वृद्धि भएर एक सातामा ३४ रुपैयाँ ६७ पैसा पुगेको थियो ।
आर्थिक विधेयक–२०८० को एक साता अघिको र पछिको आलुको मूल्य

‘आलु उत्पादक किसान निरुत्साहित छन्’
सरकारले पछिल्लो पटक आलुमा लगाएको १३ प्रतिशत भ्याटका कारण आलु उत्पादक किसान निरुत्साहित भएको व्यापारीले बताएका छन् । साना किसानसँग भ्याटबिल नभएकाले आलुको कारोबार गर्न समस्या भएपछि आलु उत्पादक किसान निरुत्साहित भएका हुन् ।
नेपाली आलुको कारोबार गर्न भ्याटबिल नहुँदा व्यापारीलाई कारोबार गर्न सहज नहुने र नेपाली आलुभन्दा भारतीय आलु खरिद गर्ने भएपछि नेपाली किसान निरुत्साहित भएका हुन् । नेपाली आलुको भ्याटबिलमा कारोबार गर्न व्यापारीलाई समस्या भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।
‘बजेट भाषणमा अर्थमन्त्रीज्यूले आयातित आलु प्याजमा भ्याट लाग्ने तर नेपालीमा नलाग्ने भनेको जस्तो लाग्छ,’ उनले भने, ‘तर आर्थिक विधेयकमा सबैमा लाग्ने भएर आएछ, नेपाली आलु किनबेच गर्दा समस्या भयो भनेर कालीमाटीका व्यवसायीहरु नेपाली आलु किन्न छोड्ने मनस्थितिमा हुनुहुन्छ, यसो भयो भने नेपाली आलु उत्पादनमा समग्रमा असर पर्ने देखिन्छ ।’
हाल आलु र प्याजमा लगाएको भ्याटका कारण कारोबारमा आएको समस्याका विषयमा आन्तिरक राजस्व कार्यालयसँग पटक–पटक छलफल गरिए पनि केही उपाय निस्कन नसकेको उनले उल्लेख गरे ।
कालीमाटीमा वर्षभरि नेपाली आलु आपूर्ति हुने व्यापारीको दाबी
कालीमाटी फलफूल तथा तरकारी बजारमा ८० प्रतिशत नेपाली आलु आपूर्ति हुने व्यापारीहरुले दाबी गरेका छन् । कालीमाटी बजारमा काठमाडौँ उपत्यका आसपासका क्षेत्रबाट वर्षभरि नै आलु आपूर्ति हुने कालीमाटी बजारका व्यवसायी रविन्द्र शाहीले बताए ।
‘अहिले पनौती, नाला, साँखुमा आलु उत्पादन हुने सिजन हो, यो सकिने बेला पाँचखालको आलुको सिजन सुरु हुन्छ,’ उनले अगाडि थपे, ‘पाँचखालको आलु उत्पादन सकिँदा, त्रिशुलीको आलुको सिजन सुरु हुन्छ, त्यसपछि मुडेको आलु हुन्छ, पछि पुनः दोहोरिन्छ ।’
नेपालमा उत्पादित आलुको कारोबार गर्न समस्या भइरहेको उनले बताए । ‘कुनै पनि किसानले कम्पनी वा संस्था दर्ता गरेर आलु उत्पादन गर्दैन,’ उनले भने, ‘उहाँहरुबाट आलु खरिद गर्दा बिल हुँदैन र ग्राहकले एक ढक आलु किनेर लैजाँदा बिल माग गर्दैनन्, यसले गर्दा आलुको कारोबार भ्याट बिलमा गर्न समस्या भएको छ ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here