डिजिटल कारोबार गर्दा पैसा नगइ काटेमा तीन दिनभित्र फिर्ता गर्नुपर्ने

काठमाडाैं । अब मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता डिजिटल भुक्तानीको माध्यमबाट हुने कारोबार असफल भई सम्बन्धित खाताबाट पैसा काटिएमा ‘फोर्स सेटलमेन्ट’ गर्नुपर्ने भएको छ । यसअघि निश्चित समय नतोकिँदा कतिपय बैंक तथा सेवाप्रदायकले हप्तौँसम्म पनि यस्तो कारोबारको सेटलमेन्ट नगरिदिने समस्या थियो ।
तर, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता उपकरणबाट हुने असफल कारोबारको सटेलमेन्ट घटनाको प्रकृतिअनुसार एक दिनदेखि ३० दिनभित्र गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकाअनुसार पैसा पठाउने र पाउने खाता एउटै संस्थाको भएमा कारोबार भएको भोलिपल्टसम्म फोर्स सेटलमेन्ट गर्नुपर्नेछ । पैसा पठाउने र पाउने खाता फरक–फरक संस्थाका भएमा कारोबार भएको तीन दिनभित्र फोर्स सेटलमेन्ट गनुपर्छ । त्यस्तै, पठाउने र पाउने खातामध्ये कुनै एक विदेशी संस्था भएमा कारोबार भएको ३० दिनभित्र फोर्स सेटलमेन्ट गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
डिजिटल माध्यमबाट भुक्तानी गर्दा कतिपय अवस्थामा कारोबार असफल भए पनि पठाउने व्यक्ति तथा संस्थाको खाताबाट पैसा काटिए पनि पाउनुपर्ने व्यक्ति तथा संस्थाको खातामा जम्मा हुँदैन । तर, त्यस्तो कारोबारको फोर्स सेटलमेन्ट, रिफन्डमा भने ढिलाइ हुने गरेको छ । त्यसले गर्दा ग्राहकले निकै सास्ती भोग्नुपरेको छ ।
सोही अवस्थालाई लक्षित गर्दै यसमा समयसीमा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस नीतिले ग्राहकलाई सहजता प्रदान गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले बताए । साथै, फोर्स सेटलमेन्ट गर्ने दायित्व सम्बन्धित दुवै संस्थालाई हुने उनको भनाइ छ । यसैगरी ग्राहकलाई साबिकमा उपलब्ध गराइँदै आइएको मोबाइल बैंकिङ, इन्टरेन्ट बैंकिङ, एमएमएस बैंकिङजस्ता सुविधा जानकारी नदिई बन्द गर्न नपाइने नीति पनि ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here