कांग्रेसको राजनीति आन्तरिक झगडामा रुमल्लियो:डा.शेखर कोइराला

धादिङ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको बताएका छन् ।

राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दुःखद भएको बताए ।
विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि दिनदिनै गिर्दै गएको उल्लेख गरे ।

अन्तर्राष्ट्रियस्तरमै कांग्रेसको छवि गिर्दै जानु राम्रो संकेत नभएको भन्दै कोइरालाले अब केवल गुटबन्दी र आत्मरतिमा रमाएर बस्न नहुने बताए । ‘राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन,’ उनले भने–‘विपी कोइराला जेलमा हुनुहुन्थ्यो पार्टी प्रतिबन्धित थियो, तर त्यतीबेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो ।’

‘व्यक्तिवादी चरित्रले कांग्रेस बिग्रियो । त्यस्ता प्रवृत्तिको चरित्र नेताहरुले सच्याउनु पर्छ । नेपाली कांग्रेसको छवी गिर्दाे अवस्थामा छ । उठाउने जिम्मेवारी मैले लिएको छु । तपाईहरु साथ दिनुस्, एक्लै चुनाव लडेर पनि नेपाली कांग्रेस आगामी निर्वाचनमा एक नम्बरको पार्टी बन्नेछ’, कोइरालाले भने ।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई धादिङबेसीमा सम्बोधन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे ।
धादिङबेसीमा आयोजित नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलन शेर बहादुर देउवा पक्षका नेताहरुले भने बहिष्कार गरेका छन् । विधान सम्मत नभएको भन्दै देउवा पक्षका नेताहरु सम्मेलनमा सहभागी भएनन् ।
साभार-पाबिल न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here