अरू बेलाभन्दा दसैंमा दोब्बर व्यायाम गरौं

स्वस्थ रहन के गर्ने/के नगर्ने?
डा. अनिल भट्टराई।स्वस्थ रहनको लागि हरेक हिसाबले सन्तुलित भोजन गर्नुपर्छ। त्यो भनेको अलिकति कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनलरस र भिटामिन हुनुपर्छ भन्ने हो। यो सबैको समिश्रणलाई हामी स्वस्थ खाना भन्छौं। योसँगै हाइजनिक समेत हुनुपर्छ। ब्रेकफास्ट धेरै कडा नभएको राम्रो हो। एकदमै तातो र चिसो खाना खान हुँदैन। तर सन्तुलित भने हुनुपर्छ।
दिउँसो आफूलाई मनपर्ने सबै खाले खाना खान सकिन्छ। दाल, भात, तरकारी, अचार र मांसाहारीले मासु खान सक्छ। सकेसम्म रातो मासु कम खाएको राम्रो हो। साँझमा फ्याट प्रोटिन र कार्बोहाइड्रेट कम भएको खाना खानुपर्छ। अर्थात् साँझको खाना हल्का खालको हुनुपर्छ। हरेक खानामा चिनी, चिल्लो र नुन कम हुनुपर्छ। आफ्नो शारीरिक गतिविधि अनुसार व्यक्तिले खाना खानुपर्छ।
स्वस्थ व्यक्तिले बढीमा १ घण्टा र कम्तीमा आधा घण्टा व्यायाम गर्नुपर्छ। यो भनेको सामान्य हिँड्ने होइन। मुटुको धड्कन ढुकढुक हुने गरी व्यायाम हुनुपर्छ।
खाना खाँदा कोही पनि व्यक्तिले अघाउने गरी खान हुँदैन। त्यस्तै खाना खानसाथ पानी खानु राम्रो होइन। स्वस्थ रहनको लागि ४ देखि ५ लिटरसम्म झोलिलो पदार्थ खानुपर्छ।
सन्तुलित भोजन र स्वस्थ मुटु
स्वस्थ मुटुको लागि सन्तुलित भोजनको ठूलो महत्व छ। जस्तो: कार्बोहाइड्रेट धेरै खाइयो भने कोलस्ट्रोल बढ्छ अनि मुटुलाई असर गर्छ। त्यस्तै धेरै खाना खाइयो भने मोटोपना बढ्छ। जसले गर्दा रक्तसञ्चार गर्ने मुटुको भार बढ्छ। त्यसैले खाना सन्तुलित र थोरै दुवै हुनुपर्छ। त्यस्तै स्वस्थ मुटुको लागि व्यायामको पनि उत्तिकै ठूलो भूमिका हुन्छ। मोटोपना, उच्च रक्तचाप, सुगरको नियन्त्रण गर्ने व्यायामले हो। व्यायामले मुटु स्वस्थ राख्छ।

दसैंमा कति खाने, कति व्यायाम गर्ने?
दसैंको बेलामा हामी धेरै खाने गर्छौं। प्रोटिन र फ्याट धेरै खाइन्छ। कार्बोहाइड्रेट त हाम्रो खानामा कहिले पनि टुट्दैन। चिनी र बोसोको कारणले सुगरका बिरामीलाई समस्या हुन सक्ने, उच्च रक्तचाप बढेर जाने अनि मुटु, अनिँदो रोगीलाई थप जटिलता आउने हुन्छ। दसैंमा रातभरि बस्ने, तास खेल्ने समेत चलन छ।
हामीले खाने खानामा सन्तुलन ल्याउन जरूरी छ। जस्तो: आज सेलरोटी खाइयो भने भोलि मासु खाने अनि अर्को दिन खिर खानुपर्छ। सँगै ह्विस्की बियर खाने त कतिपयको चलनै हुन्छ। दसैं तिहार मनाउने हो रमाइलो पनि गर्ने हो तर खानाको सन्तुलन मिलाउन पर्छ। विशेष गरेर चाडपर्वमा धेरै खाइने भएकाले अरू बेलाभन्दा धेरै व्यायाम गर्नुपर्छ। अरू बेला आधा घण्टा व्यायाम गर्नेहरूले यो बेला एक घण्टा व्यायाम गर्नुपर्छ। अर्थात् सामान्य समयभन्दा दोब्बर व्यायाम गर्न जरूरी छ।

(सहप्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख समेत हुन्।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here