रेडियो धादिङ आजबाट १७ औं वर्षमा प्रवेश

धादिङ । जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज आजबाट परिक्षण प्रसारणको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल भदौ २० गते अर्थात आजकै दिन धादिङवेसीबाट परिक्षण प्रशारण सुरु गरेको थियो ।

समुदायको लागि समुदायको आवाज भन्ने मुल नारा लिएर जिल्लाकै पहिलो सामुदायिक रेडियोको रुपमा प्रशारण सुरु गरेको थियो । रेडियो धादिङ नेपालमै पहिलो पटक चेपाङ भाषामा खबर प्रशारण गर्ने पहिलो रेडियो हो । हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा अहिले प्रत्येक दिन विहान र बेलुकी आधा घण्टाको नेपाली भाषाका खवर २ बुलेटिन, चेपाङ भाषा र तामाङ भाषाको खवर १ बुलेटीन प्रशारण हुँदै आएको छ ।

रेडियो धादिङले विभिन्न संघसंस्था तथा निकायहरुको साझेदारीमा चेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । ५ सय वाट क्षमताबाट प्रशारण भैरहेको रेडियो धादिङ, धादिङ जिल्लाका अतिरिक्त, नुवाकोट, रसुवा, गोरखा, चितवन, लमजुङ लगायत आसपासका १५ भन्दा बढि जिल्लामा सुन्न सकिन्छ ।

रेडियो धादिङ १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा आज विहानैदेखी सामाजिक सञ्जाल फेसबुक, प्रत्यक्ष फोन मार्फत शुभकामना प्राप्त भईरहेको छ । परिक्षण प्रशारणको १७ औं वर्ष प्रवेशको अवसरमा रेडियो धादिङहरुले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले बताउनुभयो । सिमान्तकृत चेपाङ समुदाय सहित अन्य समुदायको आवाज घन्काउँदै मानव अधिकारको रक्षा र लोकतन्त्रको पक्षमा जनचेतनाको लहर ल्याउन पनि रेडियोले प्रभावकारी कार्य गरिरहेको स्टेशन म्यानेजर शर्माको भनाई छ।

सूचनाबाट आउने परिवर्तन संस्थागत गर्न र विकासको लक्ष पुरा गर्दै समुन्नत र समृद्ध समाज निर्माण गर्न यसले अझै पहरेदारी गर्नुपर्ने आवश्यकतालाई पूरा गर्न रेडियो धादिङ अनवरत लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here