धादिङ । धादिङको धुनिबेसी नगरपालिका–७ मा पर्छ गुर्दुम गाउँ । धुनिबेसी लेकको नामले पनि परिचित छ गुर्दुम । पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने यो गाउँमा खानेपानी थाप्ने छुट्टै नियम छ ।
गाउँभरीमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् । अधिकांशले पहँेलो रंङ्गको जर्किन बोक्छन् । टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाइने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ । स्थानीय शेरबहादुर तामाङ भन्छन्–‘सबैले चार चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहि थन्क्याएर भोलीपल्ट मात्रै थाप्न पाइन्छ ।’
धादिङको धुनीबेसी नगरपालिका–७ गुर्दुममा अहिले पनि खानेपानी छैन । जताततै पानीको छ्यालव्याल हुनुपर्ने बर्खाको समयमा पनि एक भाँडो पानी थाप्नकै आधा रातमै उठेर लाइन बस्न दगुर्नु उनका स्थानीयको बाध्यता हो । भौगोलिक हिसावले संघीय राजधानी काठमाडौबाट नजिक र नगरपालिकाभित्र पर्ने भएपनि यो गाउँ निकै विकाटमा छ । पानी, बत्ति र बाटो तीन वटैबाट ठगिएका छन् गुर्दुमका स्थानीय । शेर बहादुर भन्छन्–‘मध्य वर्खामा पनि हामी पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएको बेला आकासे पानीले नै प्यास मेटाइरहेका छौं ।’
गर्दुम गाउमा ६८ घरधुरीको बसोबास छ । गाउँभरीमा एउटै मात्र धारा छ । तर, पानी कहिले आउछ टुंगो हुँदैन । धारामै पानी आएपनि धितमर्ने गरी पानी खान पाउदैनन् । खोलाको पानीलाई दुईवटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउदैन । मेसिनको सहायताले धारामा ल्याइएको पानी छ महिना मुस्किलले खान पाइन्छ । बाँकी छ महिना खोला नै धाउनुपर्छ ।
पोखरीडाँडा भन्ने ठाउँमा पानी जम्मा गर्ने एउटा सानो ट्याङ्की छ । गाउँ भन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ । दैनिक पाँच हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुन्छ । त्यहि पाँच हजार लिटर पानीले ६८ घरपरिवारले बाँडिचुडी प्यास मेटाइरहेका छन् । एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात ८० लिटरका दरले पानी भागमा पाउँछन् ।
माइक्रो हाइड्रो पावरको बत्ति प्रयोग गरेर पानी तानेको छ । विजुलीको क्षमता नभएकोले ठूलो मोटरले पानी तान्दैन । साँझ विहान घरमा बत्ति बालेको बेला मोटर चल्दैन । दिउसोभरी पानी तान्दा पाँच हजार लिटर भन्दा जम्मा हुँदैन । ग्रामीण विजुली बिगिएको बेला एक दिन थापेको चार भाँडो पानीले दुई-तीन दिन धान्नु पर्ने यहाँका स्थानीयको बाध्यता छ । ‘त्यो पनि हावाहुरी चलेको बेला विजुली बिग्रियो भने आकाशेपानी थापेर खानु सबैको बाध्यता हो’, स्थानीय कविता तामाङले दुख सुनाइन् ।
गाउँको धारोमा पानी भाग नपुगेको दिन आउजाउ पाँचदेखि छ घण्टा लगाएर पानी बोक्नु पर्छ । खोलामा पानी लिन जान सबै भन्दा नजिक घर हुनेहरु पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ । पाखुरे, काउलेखोला, फुर्लुङडाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ ।
पानीको दुःखले न भोक लाग्छ न निन्द्रा । खानेपानी कसरी जुटाउने, बस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्ता हरेक दिन सबैलाई छ । खाना पकाउन आकाशे पानी नै प्रयोग गर्छन् । खोलामा बाढी आएको बेला त्यहि आकाशेपानी खाने गरेका छन् । लुगा धुन, नुहाउन खोलामा नै जान्छन् । मैना तामाङ भन्छिन्– ‘पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याउदैन ।’
घरको काम, खेतबारी, बालबच्चा हेरचाह्र, मेलापात गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानी पुर्याउन करोडौंको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको धेरै दुःख छ । हिउँमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ । गाउ“मा खानेपानीको आयोजना सञ्चालन नहु“दा दशकौदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउ“दै आएका छन् ।
देशमा कयौ पटक सरकार परिवर्तन भए । कयौं मन्त्री फेरिए । घरघरमा सिंहदरबारको नारा सहित दोश्रो पटक स्थानीय सरकार बदलियो तर, उमेरले ६७ नाघेकी गुर्दुमकी साइली तामाङको दैनिकी कहिल्यै बदलिएन । सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्युका त्यु छ ।
हिउँदमा त पधेरी खोलामा पानी लिन खोलामा ओरालो लाग्नेहरुको लाम हुन्छ, घर फर्कदा पनि उस्तै हुन्छ । पिठ्युमा खानेपानीको ग्यालिन नबोके तिर्खा मेटाउन पाइदैन । पेटभरी पानी खानै नपाइ मरिने पो होकी भन्ने चिन्ता यहाँका सबैलाई छ । गाउँको बीचमा दुईवटा आहालमा आकासे पानी जमाउने गरिएको छ । बस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटा मध्ये एउटा आहाल यो वर्ष सुख्खै छ । आहाल सुधार गर्न वरपर ढुंगाको वाल उठाउन थालेकोले आकासे पानी पनि जमाउन सकिएको छैन ।
साभार-ओखरबोट