नियम विपरित शिक्षक साटफेरले धादिङको सिद्दलेख गा.पा मा तरंग ‘

धादिङ– धादिङको शिद्दलेक गाउँपालिकाले शिक्षा ऐन विपरित शिक्षकहरुको साटफेर गरेको पाइएको छ । गाउँपालिकाभित्रका १० वटा विद्यालयका ११ जना शिक्षकलाई सरुवा गरेर विद्यालय साटफेर गराएको हो ।
सम्बन्धित विद्यालय र शिक्षकको सहमति बेगर एक विद्यालयबाट अर्काे विद्यालयमा शिक्षक हेरफेर गराएको भन्दै आलोचना हुन थालेको छ । हेरफेर गर्नेपर्ने अवस्था आए शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिना मात्र गर्न पाइने सिद्दलेक गाउँपालिकाको शिक्षा नियमावली २०७४ मा उल्लेख छ । तर पठनपाठन सुरु भएको चार महिनापछि गराइएको शिक्षक हेरफेरको विषयले पालिकाभित्र तरंग छाएको छ ।

शिक्षक हेरफेरले कुनै विद्यालयको दरबन्दी नै खाली भएको छ भने कुनै विद्यालयमा एउटै विषयका ६ जनासम्म शिक्षक थुपारिएको छ । पन्चमुखी माध्यामिक विद्यालयमा गणित विषयको राहत दरबन्दी नै खाली गराएर शिद्देश्वर माध्यामिक विद्यालयमा गणित विषयको मात्रै ६ जना पुर्‍याइएको छ । पन्चमुखीमा गणित पढाउने एउटै शिक्षक बाँकी नरहँदा शिद्देश्वरमा गणितका शिक्षकले अन्य विषय पढाउनुपर्ने अवस्था आएको छ । यसले पनि राजनीतिक प्रतिसोधकै कारण शिक्षक हेरफेर गरिएको पुष्टि गराएको प्रतिपक्षीहरुले बताएका छन् ।
हेरफेर गराइएका १० वटा विद्यालयका १३ जना शिक्षक मध्ये ६ वटा विद्यालय र ४ जना शिक्षकले असहमति जनाउदै विद्यालय र सम्बन्धित निकायहरुमा निवेदन दिएका छन् । जलेश्वरी माध्यामिक विद्यालयबाट गोल्मरानी आधारभुत विद्यालयमा सरुवा गराइएकी प्राथमिक स्थायी शिक्षक आरतीदेवी रेग्मीले सरुवाप्रति असहमति रहेको भन्दै विद्यालयमा निवेदन दिएकी छन् ।

हस्तक्षेपकारी ढंगबाट मेरो मञ्जुरीविना गोल्मरानी आधारभुत विद्यालयमा सरुवा गरिएकोमा यस सरुवा प्रक्रियामा मेरो पूर्ण असहमति रहेको जानकारी गराउँदछु । साथै कार्यरत विद्यालयमा नै रहि अध्यापन गराउने दृढ संकल्प गर्दछु’, रेग्मीले निवेदनमा भनेकी छन् । गोल्मरानी आविमा अध्यापन गराइरहनुभएकी प्राथमिक स्थायी शिक्षक निर्मला आचार्यलाई नागेश्वरी आधारभुत विद्यालयमा सारिएको छ । घर पायक बनाएर सारिएको उनीहरुको तर्क छ ।
सुन्दरी माध्यामिक विद्यालयबाट समिटार आधारमुत विद्यालय सरुवा गराइएको प्राथमिक स्थायी शिक्षक रामप्रसाद अर्यालले पनि असहमति जनाएका छन् । अर्याललाई समिटार आधारभुत विद्यालय पठाएपछि सुन्दरी माध्यामिक विद्यालयको भने दरबन्दी नै खाली भएको छ ।
रेग्मी र अर्यालले जस्तै सरुवापत्र थमाइएका वलदेवी आधारमुत विद्यालय सिद्दलेक–१ बाट मनकामना आधारभुत विद्यालय सिद्दलेक–५ पठाइएका प्राथमिक राहत शिक्षक पवित्रा सिलवाल र वलदेवि आधारभुत विद्यालयबाटै अमरआदर्श माद्यामिक विद्यालय सिद्दलेक ३ पुर्‍याइएका प्राथमिक स्थायी शिक्षक रामहरि खनालले पनि असहमति जनाउदै सम्बन्धित निकायहरुमा निवेदन दिएका छन् ।
सिद्दलेक गाउँपालिकाको शिक्षा नियमावली २०७४ अनुसार एक पटक सरुवा भएको शिक्षकलाई त्यस विद्यालयमा दुई वर्ष सेवा पूरा नगरी सरुवा गर्न पाइने छैन । तर, बलदेवी आविका प्राथमिक स्थायी शिक्षक रामहरि खनाललाई गत बैशाख महिनामा जलेश्वरी आवि पठाएको चिट्ठी छ, फेरि अमर आदर्श मावि सरुवाको चिट्ठी थमाइदिएको छ । खनाल नेपाल राष्ट्रि शिक्षक संगठन सिद्दलेकका उपाध्यक्ष हुन् ।
बलदेवी आविकै प्राथमिक राहत शिक्षक पवित्रा सिलवालले बैशाख महिनामा सरुवा सहमति मागेर सुन्दरी माविमा जाने गरि दुबै विद्यालयको सहमति भएपनि ३ महिनामा राहत सरुवा गर्न मिल्दैन भन्दै सहमति नदिएको गाउँपालिकाको शिक्षा शाखाले अहिले मनकामना आविमा सरुवाको पत्र थमाइदिएको छ । मनकामना आविमा पठनपाठन गराइरहेका पवित्रा दर्लामीलाई बलदेवी आवि लगिएको छ ।
त्यस्तै असहमति जनाउने विद्यालयहरुमा सिद्दलेक–६ को समिटार आवि, गोल्मरानी आवि, सुन्दरी मावि, सिद्दलेक–४ को जलेश्वरी मावि, सिद्दलेक–३ को पन्चमुखी मावि र आमरआदर्श मावि रहेका छन् ।

समिटार आविमा चार महिनाअघि (२०७९ चैत २८ गते) नियुक्त हुनुभएका प्राथमिक स्थायी शिक्षक प्रकाश मल्ललाई नलाङ पात्ले माविमा पदस्थापन गराइएको छ ।
शिक्षक सरुवाको विषयमा एमालेको आपत्ति
यहि साउन २५ गतेका सिद्दलेक गाउपालिकाको निर्णय अनुसार भनिएको शिक्षक सरुवाको विषयलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सिद्दलेक गाउँ कमिटिले सोमबार जिल्ला शिक्षा समन्वय इकाईमा आफ्ना मागहरुसहित ज्ञापनपत्र बुझाएको छ ।

शिक्षण सिकाई अनुदान वितरणमा देखिएको अनियमितता र नियम विपरित भएका सम्पूर्ण हर्कतहरुप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । ऐन, कानून, कार्यविधि र निर्देशिका विपरित गरिएका शिक्षकहरुको सरुवा रोक र मनोमानी ढंगबाट गरिएको शिक्षण सिकाइ अनुदान वितरण सच्याउन माग गरिएको एमाले सिद्दलेक गाउँ कमिटिका अध्यक्ष कमला शर्माले बताइन् । विभिन्न विद्यालयका दरवन्दि कटौति गर्ने गरि गरिएको निर्णय फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने उनको भनाई छ ।
स्थायी शिक्षक सरुवा भएर जाने र आउने दुवै तर्फका विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय र विद्यालय व्यवस्थापन समिति अध्यक्षको हस्ताक्षर सहित सरुवा सहमति लिई शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने र सो निवेदनका आधारमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले सरुवा गर्नुपर्ने व्यवस्था छ । तर, सरुवा भई जाने र आउने शिक्षकहरुबाट सम्बन्धित विद्यालयहरुमा सरुवा सहमति माग नभएको र विद्यालयको तर्फबाट सहमति नभएकोले शिक्षक सरुवा नियम विपरित भएको ठहर गरेको छ । समन्वय इकाइ प्रमुखले सरुवा नगरेको र यो सम्बन्धित शिक्षकको इच्छा विपरित र मौजुदा कानून विपरित रहेकोले पनि नियम विपरित ठहरिएको एमाले सिद्दलेकका सचिव रामहरि बराकोटीले बताए ।
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार दरबन्दी मिलान गर्दा विद्यालयमा न्यूनतम दरबन्दी सुनिश्चित गरी नपुग भएमा गर्नुपर्ने र बढी भएमा कट्टा गर्नुपर्ने अवस्था छ । राहत शिक्षकको सरुवा सम्बन्धमा विद्यमान मौजुदा शिक्षा ऐन नियमावलीमा कुनै व्यवस्था छैन ।

साभार>पाबिल न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here